काठमाण्डौं, भाद्र १४
हङकङमा महावाणिज्यदूत बनेर उदय रानामगर जाने हुनुभएको छ । नेपाल सरकारले हङकङ र मकाउका लागि पहिलो पटक जनजाति समुदायका सहसचिव उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेपछि मगर हङकङ जाने हुनुभएको हो । आइतबार बेलुकी सम्पन्न मन्त्रिपरिषद बैठकले रानालाई हङकङको महावाणिज्यदूत पठाउने निर्णय गरेको हो । रानामगर हङकङमा जनजाति समुदायको पहिलो महावाणिज्यदूत बन्नु भएको हो । मन्त्रिपरिषद बैठकले नवराज ढकाललाई ल्हासाको महावाणिज्यदूतका रुपमा पठाउने पनि निर्णय गरेको जनाइएको छ । हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी आदिवासी जनजातिहरु रहेका छन् ।
बेलायती सैनिकमा भर्ती हुँदा हङकङमा बसेका मगर, गुरुङ, राई, लिम्बु समुदायका परिवारका सदस्य अहिले हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका हुन् । रानामगर गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, झापा र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसक्नुभएको छ ।