पाल्पा, भाद्र ४
आज तीजको दर खाने दिन । भोलि तिज । तिजका अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाइँदै छ । हिन्दु धर्मशास्त्रमा उल्लेख कथा अनुसार परापूर्वकालमा पार्वतीले शिव भगवानलाई पति पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासमा सुयोग्य पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि व्रत बस्ने चलन छ । तीजमा धेरै महिला व्रत बस्ने गरे पनि पहिलेजस्तो निराहार व्रत बस्ने चलन भने हराउँदै गएको छ । दर खानको लागि चेलीबेटीलाई माइत बोलाउने चलन भए पनि यो वर्ष कोरोना संक्रमणका कारण चेलीबेटी आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । अहिले भिडभाड गर्दा कोरोनाको संक्रमण बढ्ने भएकाले भोलि पनि आफ्नै घरभित्रै रमाइलो गरेर मनाउन स्वास्थ्य कर्मीले सबै संग आग्रह गरेका छन् । तर व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिनुपर्ने समेत डाक्टरले आग्रह गरेका छन् ।