पाल्पा, साउन ३०
पाल्पामा कुटपिट बाट एक पुरुषको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । स्थानीय यूवाको कुटपिट बाट निस्दी गाउँपालिका ७ ज्यामिरेका ४२ बर्षिय रिकमान दिसुवा मगरको ज्यान गएको भन्दै जिल्ला प्रहरी कार्यालय, पाल्पामा उजुरी परेको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न गएका रिकमानलाई छिमेकी २० वर्षिय दुर्गा बहादुर सारुले कुटपिट गरेका थिए । कुटपिट बाट घाइते उहाँको १७ दिन पछि ज्यान गएको जनाइएको छ । शरिरका बिभिन्न स्थानमा चोट लागेपनि घाईतेको स्थानीय स्वास्थ्यचौकीमा मात्रै उपचार भएको थियो । तर टाउँकोमा गम्भीर चोट लागेकाले उनको मृत्यु भएको हुन सक्ने स्थानीयले जनाएका छन् । स्थानीय अगुवाहरुले पिडितलाई २५ हजार दिन लगाएर घटनालाई ढाकछोप गरेका थिए । दिसुवाको ज्यान गएपछि मात्रै उहाँका परिवारले जिल्ला प्रहरी कार्यालय, पाल्पामा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । जाहेरीका आधारमा सारुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।