काठमाण्डौं, साउन २५ ,
आज २६औं विश्व आदिवासी दिवस । कोरोना संक्रमणको जोखिम भएकाले सार्वजनिक कार्यक्रम नगरी अन्य कार्यक्रमका साथ नेपालमा पनि मनाइदै छ । विश्व आदिवासी दिवसका अवसरमा जनजाति महासंघको आयोजनामा इन्टरनेटको साथमा भर्चुअल बैठक मार्फत शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएकोछ । ‘पहिचान सहितको संघीयता र स्वयत्तताका लागि संविधान संशोधनको आन्दोलन हाम्रो साझा बहस । स्वनिर्णित विकास र महामारीमा बाँच्ने तथा बचाउने पक्षमा २६ औं विश्व आदिवासी दिवस’ भन्ने मूल नारा तय गरेको जनजाति महासंघले जनाएको छ ।
यसैबिच विश्व आदिवासी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्र्मा ओलीले शुभकामना दिनुभएको छ । नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।