नेपालको भूमिमा नेपालीलाई बाधा नगर्न भारतलाई पत्र

काठमाण्डौ, साउन १४
नेपालको भूमिमा नेपालीलाई बाधा नगर्न भन्दै नेपालले भारतलाई पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन भनेको हो । गृह मन्त्रालयको निर्देशनपछि धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । पत्रमा सुगौली सन्धी तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको भन्ने प्रष्ट भएकाले यी नेपाली भूभागहरूमा नेपालीको आवतजावत स्वाभाविक नै रहेको हुँदा बाधा–अड्चन नगर्न भनिएको छ ।

यसअघि गएको असार ३० गते भारतको धार्चुला प्रशासनले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीहरु अवैध रुपमा चोरी–छिपी रहेको भन्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएको थियो । भारतको पत्रको जवाफमा दार्चुला प्रशासनले लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालकै भएको स्मरण गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *