पाल्पा, असार २७
पाल्पामा कोरोना संक्रमितलाई परिक्षण बिनै घर पठाइएको छ । आइसोलेसनमा बसेका २ सय ५६ जना संक्रमितको पुन परीक्षण नगरी घर पठाइएको हो । स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि भैरहवा पठाएको रिपोट नआउँदै उनीहरुलाई घर पठाइएको हो । एक महिना आइसोलेसनमा बसेका माथागढी गाउँपालिकाका १५ जनालाई घर पठाउँदा घरपरिवारदेखि गाउँ समुदायसमेत चिन्तित रहेको गाउँपालिकाका अध्यक्ष सन्तोश थापाले गुनासो गर्नुभयो । गाउँपालिकाले आफैँ भिटिएम किट खरिद गरी स्वाब संकलन गरेर आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि भैरहवा पठाएपनि भैरहवा प्रयोगशालाले स्वाब चेकजाँच नहुने भन्दै फालिदिएको अध्यक्ष थापाको भनाई छ ।
संक्रमितभएकालाई गाउँपालिकाबाट रकम खर्च गरेर सदरमुकाम तानसेनको आइसोलेसनमा ल्याउनुपरेको तर विना परिक्षण घर पठाउन थालेपछि खर्चको औचित्य नरहेको उहाँको भनाई छ । भैरहवा प्रयोगशालामा पठाएको पुन परीक्षणको स्वाब परीक्षण नभएको तर नयाँ व्यक्तिको मात्र परीक्षण रिपोट आएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । सरकारले लक्षण नदेखिएका व्यक्ति संक्रमित भएको १४ दिनपछि बिना चेकजाँच घर पठाउन दिएको निर्देशन अनुसार स्वास्थ्य आइसोलेशनमा रहेकाहरुलाई घर पठाएको जनाएको छ । पाल्पाका ५ सय ४९ जना सक्रमित मध्ये ३ सय ३ जना निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये ३६ वर्षिय एक पुरुषको कोरोना संक्रमण बाट ज्यान गएको छ ।