पाल्पा, असार १०
पाल्पाको बगनासकाली गाउँपालिकाको सातौं गाउँसभाले ४५ करोड ४ लाख ६६ हजार बढीको बजेट पारित गरेको छ । बुधबार सम्पन्न गाउँसभाले विशेष प्रस्तावसहित आर्थिक वर्ष २०७७ र ७८ को लागि ४५ करोड ४ लाख ६६ हजार २ सय ७४ रुपैयाँ बराबरको बजेट पास गरेको हो । गाउँपालिकाले आर्थिक विधेयक २०७७, विनियोजन विधेयक २०७७ साथै २५ विभिन्न शीर्षकका नीतिगत निर्णय सर्वसम्मत पारित गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठका अनुसार आर्थिक विधेयकमा सम्पत्ती कर, भूमि कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, जडिबुटी कवाडी र जीवजन्तु कर, मनोरञ्जन कर, बहाल, पार्किङ शुल्क लगायतका १६ शीर्षकका रहेका छन् । विनियोजन विधेयकमा ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७७ र ७८ का लागि बगनासकाली गाउँपालिकाको गाउँ कार्यपालिका, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यक्रमहरूको निमित्त विनियोजन गरिने छ । चालु तथा पूँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिने गरी विनियोजन विधेय पारित भएको पालिकाले जनाएको छ । कोरोना भाइरसको रोकथाम र सचेतनाका लागि बजेटमा प्राथमिकता दिइएको छ । महामारी रोकथाम नियन्त्रण, राहत, क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, संक्रमित विरामीको उपचार लगायत अन्य विपद् व्यवस्थापनलाई सम्बोधन गर्ने गरी १ करोड विनियोजन प्रस्ताव गरिएको छ । कोरोना भाइरस संक्रमणको संवेदनसिल अवस्थालाई ध्यान दिदै स्वास्थ्यतर्फ ४५ लाख बजेट छुट्याईको छ । बगनासकालीलाई नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने अभियानलाई पुरा गर्न गत बर्ष १ करोड छुट्याएको पालिकाले यस वर्ष ५५ लाख विनियोजन गरेको उपाध्यक्ष सरस्वति चिदिले जानकारी दिनुभयो ।
कृषि विकासतर्फ समानिकरण बजेटबाट ५८ लाख ५० हजार,पशु विकास तर्फ ३१ लाख ५० हजार विनियोजन प्रस्ताव गरिएको छ । युवाहरूको लागि रोजगारी सिर्जना गर्न बैंक मार्फत साझेदारी गरी स्वरोजगरी अभियान संचालन गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन युवा स्वरोजगार कोषतर्फ २९ लाख विनियोजन गरिएको छ । विगतका अधुरा योजनालाई पूरा गर्नेगरी बजेट विनियोजन गरिएको समेत उपाध्यक्ष चिदिले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७७ र७८ मा सीमित स्रोत र साधनको उच्चतम सदुपयोगका निम्ति राजस्वका दरहरू जनमैत्री तथा दायराहरू फराकिलो बनाउने नीति अवलम्बन गरिएको अध्यक्ष कृष्ण प्रसाद बस्यालले जानकारी दिनुभयो । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक रुपमा अघि बढाउने, युवालक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउने निति तथा कार्यक्रममा जनाईको छ । पालिकाको सातौ गाउँसभामा अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकामा उपलब्ध स्रोत र साधनले धान्न नसकेका आयोजनाहरूलाई केन्द्र तथा प्रदेशमा पठाई सहमतीका आधारमा अघि बढाउने बताउनुभयो । अध्यक्ष बस्यालको सभाध्यक्षमा सम्पन्न सभामा पालिका उपप्रमुख सरस्वती चिदी दर्लामीले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो ।