पाल्पा, असार १०
पाल्पामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । बुधवार रामपुर नगरपालिकामा १४ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार वडा नम्बर ६ का एक पुरुष , वडा नम्बर ७ का २ पुरुष र वडा नम्बर ९ का ११ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । यस अघि पनि रामपुर नगरका बिभिन्न वडाका १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यस अघि पूर्वखोला गाउँपालिकामा १ सय २९ जना, माथागढी गाउँपालिकामा २७ जना, रैनादेवी छहरा गाउँपालिकामा २० जना, रम्भा गाउँपालिकामा १६ , बगनासकाली गाउँपालिकामा २८ जना, तिनाउँ गाउँपालिकामा ३ जना, रिब्दीकोट गाउँपालिकामा ४ जना, निस्दी गाउँपालिकामा २ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।
भारत बाट घर फर्किएका पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा कोरोना संक्रमणकै कारण ज्यान गएको छ । उपचारका लागी पाल्पा आएका गुल्मीका २ र अर्घाखाँचीका १ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । पाल्पामा संक्रमित मध्ये ७ जना उपचार पछि सन्चो भएर घर फर्किएका छन् ।