काठमाण्डौं,जेठ ३१
सर्वसम्मत रुपमा नेपालको संविधान संशोधन भएको छ । शनिबार संसदमा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ सर्वसम्मतिले पारित भएको हो । प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकोमा दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान गरेका हुन् । विधेयेक पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितका भूमि थपिएका छन् । यद्यपि यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनुहुनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्साले पूर्ण वैधानिकता पाउनेछ ।
सरकारले यसअघि नै नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ । लिपुलेक र लिम्पियाधुरा क्षेत्र हुँदै भारतले कैलास मानसरोवर जाने बाटो निर्माण गरेर उद्घाटन गरेपछि नेपाल सररकाले भारतसँग गम्भीर असहमति जनाउँदै त्यो क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेको हो । सीमा विवादको बारेमा नेपालले वार्ताको लागि पटक पटक भारतसँग आग्रह गरे पनि भारत वार्तामा बस्न मानेको छैन ।