नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुग्यो
काठमाण्डौं, जेठ १६
नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ । शुक्रबार एकै दिन एक सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै रौतहटका ५६ जना छन् । कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्लाहीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये दुई सय ६ जना निको भएर उपचार पछि घर फर्किएका छन् ।