काठमाण्डौं, जेठ १२
ज्यान गएपछि अन्त्येष्टि गरिएका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ७० वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो । जेठ ४ गते मृत्यु भएका उनको , परिवार र आफन्तले अन्त्येष्टि गरिसकेका छन् । मृतकको स्वाब परीक्षण गर्दा शंकास्पद देखिएपछि थप पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कोरोना भाइरस संक्रमण पाइएको नारायणी अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो । क्षयरोग, निमोनिया र दमको समस्या बढेपछि उनलाई यही जेठ २ गते अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि भारत बाट नेपाल आएका बाँकेका एक युवा, गुल्मीका शिक्षक र सिन्धुपाल्चोकका सुत्केरी गरी ३ जनाको ज्यान गएको थियो ।