काठमाण्डौं, बैशाख ३
नेपालमै पहिलो पटक कोरोना संक्रमणले ज्यान गुमाएकी महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली धुलिखेल अस्पताल गएको थियो । उनको शवलाई कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार सुरक्षित रुपले दाहसंस्कार गरिएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान सहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेको थियो ।
शव बोक्न कुनै पनि शववाहनले नमानेपछि भक्तपुरबाट काभ्रे प्रहरीले शव वाहन मगाएको थियो । मृतकका एक जना आफन्त र रेस्क्यू टोलीले राती सवा ९ बजे अन्तिम संस्कार गरेका थिए । सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षिया सुत्केरीको उपचारका लागी धुलिखेल अस्पतालमा लाने क्रममा बाटोमै ज्यान गएको हो ।