काठमाण्डौं, बैशाख ३
नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार दिउँसो काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी शनिबार मात्रै ११ जनामा कोरोना संक्रमितको पुष्टि भएको हो । शनिबार बिहान बर्दिया राजापुरकी २८ वर्षकी महिला, सिरहा सखुवा नन्कारकट्टीका ३० वर्षका पुरुष, पर्सा वीरगञ्जका २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरका २८ वर्षकी महिला र चितवनकी २५ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा पनि शनिबार नै कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । अहिले सम्म कोरोना संक्रमति ३६ जना भने उपचारपछि ठिक भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर गएका ३ जनामा भने पुन कोरोनाको पोजेटिभ भेटिएको छ ।