मंगलबार बिहानै कपिलबस्तुबाट तानसेनको मिशन अस्पतालमा उपचारका लागी बिरामी लिएर दुई वटा एम्बुलेन्स आए । दर्जनौ बढी कोरोना पोजेटिभ भेटिएका कपिलबस्तुका तरकारीहरु अहिले पनि तानसेनमा आइरहेका छन् । कोरोना संक्रमित भेटिएका रुपन्देही त, पाल्पाका लागी पानीपधेरो नै हो । छिमेकी भारतका तरकारी लगाएतका खाद्धान्न पनि भित्रिएकै छन् । पाल्पा बुटवलको सडकमा दर्जनौ साना ठुला सवारीहरु आउँजाउँ भैरहेका छन् । रातको समयमा तिनाउँ खोला हुँदै पाल्पा आउनेको ताती लागीरहने स्थानीयले बताइरहेका छन् ।
बजारमै पास बिनाका मोटरसाईकल र यात्रुबोक्ने कार र भ्यानहरु गुडेकै छन् । कृषि एम्बुलेन्सको नाउँमा तरकारी बिक्रि बितरणमा भिडभाड भएकै छन् । अहिले पनि तानसेनका बैंकमा लागेका लामो लाईनले लाग्छ, लकडाउन भन्ने मात्रै कि ? लकडाउनको अटेरी भएपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधाज्ञालाई जनताले बुझेनन् कि झन् अटेरी गरिरहेका हुन् ? राहात बाड्ने र केही स्वास्थ्य सामाग्री प्रदान गर्ने नाउँमा जिल्लाका बिभिन्न पालीकामा जनप्रतिनिधिहरुलेनै जनता जुटाएका तस्बिरहरु भाइरल भैरहेकै छन् । प्रहरी आएमात्रै घर भित्र पस्ने, पसल बन्द गर्ने र सडकमै गफिएकाहरु भित्र पसे जस्तो गर्ने दृश्य तानसेनमा जताजतै छन् ।
पटक पटक साबुन पानीले हातमुख धुनुपर्ने र सरसफाई गरिरहनुपर्ने यो बेला हप्तौ सम्म धारोमा पानी नआएपछि खानसमेत धौ भैरहेको छ । भारत लगाएत बाहिरी जिल्ला वाट लुकिछिपि घर फर्किने क्रम रोकिएको छैन । घरभित्रै बस्न भनिएको छ । बिहान गएको बिजुली बेलुकी सम्म आउँदैन । आएपनि छिनमै हराउने समस्या थपिएको छ । बजार भाउ बढेको छ । समस्या धेरै छन् । कोरोनाको जोखिमबाट बच्न सरकारले गरेको लकडाउन आफ्नै लागी हो भन्ने भावना सायदै कममा छ । त्यसैले हामीले भनेका छौ, लकडाउन नाउँ मात्रै कि ! परिपालना गर्ने ?