पत्रकारका तलब कटौती नगर्न फोनिजको आग्रह

काठमाण्डौं, बैशाख १८,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले कोरोना भाइरसको संक्रमणको बेला संचारगृहमा कार्यरत पत्रकारलाई निस्काशन नगर्न र तलब नकाट्न आग्रह गरेको छ । अहिलेको बिषम अवस्थामा नेपालका अधिकांस सञ्चारगृहले पत्रकार निस्काशन तथा तलब कटौती गरेका भन्दै फोनिजले त्यसो नगर्न आग्रह गरेको हो । बिहिबार बेलुकी भिडियो कन्फ्रेन्समार्फत बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन समेत माग गरेको अध्यक्ष डण्ड गुरुङले जानकारी दिनुभयो । जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि पनि विशेष राहत प्रदान गर्न आग्रह गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

फोनिजको बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन पनि सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ । सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्वाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गर्दे अहिलेको अवस्थामा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन पनि पत्रकारलाई अपिल गरिएको फोनिजका महासचिब मनोज घर्ती मगरले जानकारी दिनुभयो । संघिय समितिको बैठकमा सातै प्रदेश इन्चार्जहरुले समेत आफ्ना क्षेत्रका बारेमा जानकारी दिएका थिए ।