पाल्पा, बैशाख ५,
स्याङ्जाको कालीगण्डकी जलबिद्युत आयोजनाको बेलटारीमा काम गर्ने दाङ्का ३५ जना मजदुरहरु पैदल बाटै घर हिडेका छन् । दंगीसरण गाउँपालिका वडा नम्बर ७ का मजदुरहरु शुक्रबार बिहानै बेलटारी बाट हिडेर शनिबार बिहान पाल्पाको बगनासकाली आएका थिए । बगनासकालीको यम्घा हुँदै खानीगाउँको रानीघाट दरबार हुँदै अर्गलीको बाटो लागेका उनीहरु रिडि, अर्घाखाची बाट पाँच दिनमा दाङ्ग पुग्ने मजदुरका नाइके सन्त बहादुर बुढाथोकीले जानकारी दिनुभयो । बेलटारीमा रहँदा खान बस्न समेत समस्या भएपछि बाध्य भएर घर हिडेको नाइके बुढाथोकीको भनाई छ । घर फर्किन गाउँपालीका, वडा अध्यक्ष र जिल्लामा टेलिफोन बाट समस्या राखेपनि कसैले पनि वास्ता नगरेपछि बाध्यभएर पैदल बाटै घर हिडेको बिसाल बुढाले बताउनुभयो । ३५ मजदुर मध्ये केही बृद्धा र केही बालक समेत छन् । दिन रात पैदल हिड्दा दर्जनौ ठाउँका गाउँलेहरुले रोकेपनि समस्या बताएपछि छोडेको र धेरै ठाउँमा कुकुरले लखेटेको बुढाले दुखेसो गर्नुभयो । बाटोमा खान दुई चार किलो चिउरा र चाउचाउ मात्रै रहेको उनीहरुले बताएका छन् ।
बेलटारीमा बस्दा दाउरा खोज्न, पानीको प्रयोग गर्न स्थानीयले दिएनन्, काम गरेको पैसा पाउन छोडीयो , खाने कुरा सकियो , मजदुरका नाइके सन्त बहादुरले भन्नुभयो मर्नुभन्दा बहुलाउनु निको भन्दै घर हिडियो । कसैको घर पस्दैनौ, गाँउ छिर्देनौ, बाटैबाट हिडिका छौ, बिसालले भनाई छ, जे छ त्यही खान्छौ, कसैले रोके समस्या बताउँछौ र हिडेका छौ ।