पाल्पा, बैशाख ५,
तानसेन खानेपानी उपभोत्ता समितिले चैत्र महिनाको महशुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । समितिको बैठकले फागुन देखि बैशाख सम्मको जरिवाना नलिने र चैत्र महिनाको शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको समितिका अध्यक्ष चकोरमान शाक्यले जानकारी दिनुभयो । ३५ शय बढी ग्राहक रहेको समितिमा चैत्र महिनाको शुल्कमामात्रै ५० प्रतिशत छुट दिदा पनि झण्डै साढे ८ लाख रकम हुन आउने समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताउनुभयो । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका जोखिम बाट जोगिन सरकारले गरेको लकडाउनको परिपालन गर्न समेत समितिको बैठकले सवै संग आग्रह गरेको अध्यक्ष शाक्यको भनाई छ । समितिले आफ्ना ग्राहक बाट मासिक १७ लाख बढी महशुल उठाउँदै आएको छ ।
बिजुली बाट पानी तानेर पाल्पा सदरमुकाम तानसेनमा खानेपानी बितरण गर्दे आएको तानसेन खानेपानी उपभोत्ता समितिले पछिल्लो पटक कालीगण्डी नदीको पानी ल्याउने कार्यको अवस्था अन्तिम चरणमा पुगेको समेत जनाएको छ । गर्मीयाम शुरु भएको भन्दै आफ्ना उपभोत्ता हरुलाई पानी उमालेर मात्रै पिउन समेत आग्रह गरिएको समितिले जनाएको छ ।