अस्पतालको लापरवाहीले पतिको ज्यान गयो ः रीता थापा

रुपन्देही, चैत्र १९,
को*रोना विशेष अस्पताल बुटवलमा ज्यान गुमाएका पाल्पाका बाबुराम थापाका श्रीमती रीता थापाले अस्पतालको लापरवाहीले आफ्ना पतिको ज्यान गएको दाबी गर्नुभएको छ । घटनाको बिषयमा छानविन गरी दोषीलाई कारवाहीको माग गर्दे उहाँले आफूलाई राहतको व्यवस्था नभएसम्म शव नबुझ्ने बताउनुभयो । उपचारका क्रममा थापाको यही चैत्र १६ मा ज्यान गएको थियो । रिब्दीकोट गाउँपालिका कुसुमखोला, पाल्पा घर भएका मृतक ३४ वर्षिय थापा पछिल्लो समय रुपन्देहीको सैनामैना बस्दै आएका थिए । थापाका सात र छ वर्षका दुई छोराहरु छन् । कोरो*ना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा श्रीमानको अनाहकमा ज्यान गुमाउनुपरेको रीता थापाको गुनासो छ । दुबईबाट चैत ६ गते नेपाल आएका थापालाई अर्को दिन ज्वरो आएको थियो । मुर्गियाको एक मेडिकल गएका उनलाई टाइफाइड भएको भन्दै औषधि दिइएको थियो । तर, ज्वरो नरोकिएपछि उनी सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसेका थिए । को*रोनाको शंका लागेर चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल गएका उनलाई कोरोना विशेष अस्पताल पठाइएको थियो ।
मृत्यु पछि आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको थियो । भर्ना भएको दिन नै राम्रो संग स्वास्थ्य परिक्षण गरेर उपचार गरेको भए पतिको ज्यान जोगिने रीताले बताउनुभयो । अस्पतालले बिरामी आफैंलाई ज्वरो नाप्न दिनेबाहेक अरु केही नगरी राखेको थापाको आरोप छ । अस्पताल भर्ना पछि डाक्टर नजिक नपरेको, ज्वरो आफैं नाप्नुपरेको, तातो पानीसमेत नदिइएको उहाको आरोप छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *