पाल्पामा २ सय ६५ क्षमताको क्वारेन्टाइन र २५ बेडको आइसोलेशन बेड

पाल्पा, चैत्र १८,
कोरोना भाइरसको जोखिमवाट जोगिन पाल्पाका १० पालीकाहरुमा २ सय ६४ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएकाहरुलाई हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्ने जस्ता कार्यहरु भैरहेको पालीकाहरुले जनाएका छन् । विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा क्वारेन्टाईन निर्माण गरिएका छन् । तानसेन नगरपालिकाले वडा नम्बर ६ बर्तुङ्गमा ५० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । तानसेनमा रहेका जिल्ला अस्पताल, युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा गरी २५ बेडको आइसोलेसन वेड तयारी अवस्थामा राखिएका छन् । रम्भा गाउँपालिकाले वडा ५ रम्भा मावि ताहुँमा ५० वेडको क्वारेनटाइन र रैनादेवी छहरा गाउँपालिकाले वडा ४ को पुरानो स्वास्थ्य चौकीमा १५ बेडको क्वारेनटाइन सेवा शुरु गरेको छ । माथागढी गाउँपालिकाले वडा ३ को कसेनी स्थित दिव्यज्योती माविमा र वडा ४, झडेवाको किसान माविमा गरी ३० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ । तिनाँउ गाउँपालिकाले वडा नम्बर मा रहेको दोभान मा.वि.मा १० वेडको क्वारेन्टाइन सेवा संचालन गरेको छ ।
रिब्दीकोट गाउँपालिकाले वडा नम्बर ३ को खस्यौलीमा रहेको सरस्वती मा.वि.मा ५० वेडको र बगनासकाली गाउँपालिकाले वडा नम्बर १ को ग्राम्य मावि गाप्टुङ्ग र वडा ९ को चन्द्र मा.वि, चाप्पानीमा २० वेडको क्वारेन्टाइन सेवा शुरु गरेको हो । रामपुर नगरपालिकाले वडा नम्बर ५ को बालकल्याण आधारभुत विद्यालयमा २० वेडको र पूर्वखोला गाउँपालिकाले १० वेडको क्वारेन्टाइन सेवा सञ्चालन गरेको छ । निस्दी गाउँपालिकाले १० वेड क्वारेन्टाइन बाट सेवा संचालन गरेको छ ।
क्वारेनटाइन बस्नै मान्दैनन् परदेशबाट आएकाहरु
पछिल्लो तथ्याङ्क अनुसार पाल्पामा ११ सय बढी भारत लगायत तेस्रो देश बाट पाल्पालीहरु घर फर्किएका छन् । उनीहरुमा कोरोना संक्रमणको जोखिम रहेपनि पालीकाहरुले निर्माण गरेका क्वारेन्टाइनमा बस्न अस्विकार गर्ने गरेका छन् । २६५ बेडको क्वारेनटाइन रहेको पाल्पामा ४७ जना मात्रै बसेका छन् । पूर्वखोलामा १९, रामपुरमा १२, रिव्दीकोटमा ३, तानसेनमा ४, रैनादेवी छहरामा ७ र रम्भामा २ गरी ४७ जना विदेशबाट आएका नागरिक मात्र क्वारेन्टाइनमा बसेका जनाइएको छ । १ हजार ५० भन्दा बढी व्यक्तिहरु आफ्नै घरमा बसेका छन् । आफूलाई कुनै समस्या नभएको भन्दै उनीहरु क्वारेन्टाइनमा बस्न नमानेको पालीका प्रमुखहरुले जनाइएका छन् ।
लुकिछिपि प्रवेश गर्नेको संख्या बढ्दै
तराइका सिमानासँग जोडिएका तिनाँउ गाउँपालीका, माथागढी गाउँपालिका , रैनादेवी छहरा गाउँपालिका र निस्दी गाउँपालिकाको बाटो भएर विभिन्न नाकाहरुबाट लुकिछिपी घर फर्किनेको संख्या समेत दिनदिनै बढीरहेको जनाइएको छ । बुटवल पाल्पाको प्रवेश स्थल दोभानमा प्रहरी चौकी रहेको, तिनाउँ गाँउपालिकाले स्वास्थ्य परिक्षण गरेको भन्दै तिनाउँखोला र पारीको जंगलबाट समेत रातको समयमा शयौ मानिसहरु प्रबेश गरेपनि त्यसलाई नियन्त्रण गर्न समस्या भएको तिनाउँ गाउँपालिकाका प्रबक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । सिमा नाकामा सुरक्षाकर्मीहरु परिचालन गर्न नसकिएको र स्थानीयबाट मात्र आवतजावत नियन्त्रण हुन नसकेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोश कुमार थापाले बताउनुभयो ।
कर्मचारीलाई प्रोत्साहन भत्ता
पाल्पाका ४ पालीकाहरुले कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्य कर्मी र कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको घोषणा गरेका छन् । रामपुर नगरपालिका,बगनासकालि गाउँपालिका, रैनादेवि छहरा गाउँपालिका र निस्दी गाउँपालिकाले कोरोना रोग नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएका हुन् । साथै कोरोना रोग नियन्त्रणको शिलशिलामा ज्यान गुमाउने अवस्था आए १० लाख रुपिया क्षतिपूर्ति दिने निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *