पाल्पा, चैत्र ४,
कोरोना भाइरसका वारेमा जानकारी समेटिएका पर्चा पम्प्ल्येट वितरण गर्दै ने.क.पा पाल्पाले सचेतना अभियान शुरु गरेको छ । कोरोना सम्बन्धी सचेतना सामाग्रीको तानसेनको सित्तलपार्टीमा मंगलबार दिउँसो सार्वजनिक गर्दे पर्चा वितरण एवम् घरदैलो अभियान शुरु भएको नेकपा पाल्पाले जनाएको छ । कोरोना ( कोभिड १९) के हो ? यसका लक्षण, वच्ने उपाए जस्ता जानकारी समेटिएका सामाग्री लिएर तानसेन बजारमा घरदैलो अभियान शुरु भएको ने.क.पा पाल्पाका प्रचार विभाग प्रमुख गरास आत्रेयले जानकारी दिनुभयो ।
सचेतना सामाग्री सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य ठाकुर गैरेले विश्वलाई आतंकित बनाएको कोरोनाबाट सबै सजक र सचेत हुनुपर्नेमा जोड दिनुभयो । कोरोना भाइसर भन्दा पनि यसका बारेमा फैलिएका अनावश्यक हल्ला र प्रचार प्रति असन्तुष्टि जनाउँदै केन्द्रिय सदस्य गैरेले संयमित भएर कोरोनाबाट सुरक्षित हुने उपायहरु अपनाउन सवैसंग आग्रह गर्नुभयो । नेकपाका जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना भाइरसको समस्या आउन नदिन कुनै एक ब्यक्ति मात्रै लागेर नहुने भन्दै सामुहिक रुपमा अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।