पाल्पा, फागुन ११,
साढे ५ करोडको कारोबार गर्दै पाल्पा महोत्सव सम्पन्न भएको छ । पाल्पा व्यापार संघको आयोजनामा दमकडा, खेलमैदानमा भएको भएको महोत्सवको एक लाख दश हजार बढी दर्शकले अवलोकन गरेका छन् । फागुन १ गतेदेखि ११ गतेसम्म चलेको महोत्सव आइतबार बेलुकी सम्पन्न भएको हो । महोत्सव समापन समारोहका प्रमुख अतिथि संघीय सांसद सोमप्रसाद पाण्डेयले महोत्सवले यस क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पाल्पामा उत्पादित कृषिजन्य बस्तु र पर्यटकीय स्थहरुको प्रचारमा महोत्सवले उल्लेखनीय सहयोग गरेको बताउनुभयो । दमकडामा सम्पन्न महोत्सवले पाल्पा सहित माडी क्षेत्रमा विकासको सम्भावनाको गोरेटो कोरेको उहाको दावी थियो ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष यादवसिंह कार्कीलगायतले सफलताका साथ महोत्सव सम्पन्न गरेकोमा आयोजकलाई बढाई दिनुभयो । समापन समारोह संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चिरन्जीवि पोखरेको अध्यक्षता र सचिव पर्शुराम पौडेलेको संचालनमा भएको हो । पाल्पाको स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएका थिए । महोत्सवमा पाल्पाको कृषि, पर्यटन, साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको बजारीकरण गर्न सहज होस् भनेर महोत्सव आयोजना गरेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । महोत्सवमा दश स्थानीय तहबाट प्रतिनिधित्व गर्ने कृषि र पर्यटनका स्टलको सहभागिता रहेको थियो । महोत्सवमा कृषि ज्ञान केन्द्र, पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, पाल्पा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, दमकडाको महिला समूह, उखुको खुदो, फलामबाट बनाइएका कृषि औजारका स्टल, उनजन्य बस्तुबाट बनेका टोपी, स्वीटर, मफलर, मौरीको गोला सहितको स्टल आकर्षक बनेको थियो ।
यस्तै निस्दी गाउँपालिकास्थित काउलेडाँडाको अम्रिसोबाट बनेका कुचो, रिब्दीकोट गाउँपालिकाको पर्यटन सम्बन्धी जानकारी दिने डिस्प्ले बोर्ड, दमकडा नमूना मावि र रिभर भ्याली माविका विद्यार्थीले तयार गरेको भविष्यको माडी उपत्यकाको नमूना समेत आकर्षक बनेको स्टल संयोजक कमल ढकालले जानकारी दिनुभयो । महोत्सवमा बाल उद्यान, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका स्टलहरू, होटल तथा रेष्टुरेन्टको समेत स्टल रहेका थिए ।
महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, विभिन्न संघसंस्थाबाट ल्याइएका लोपोन्मुख नाच तथा गीत प्रस्तुत गरिएको थियो । पाल्पाको सबै क्षेत्रका स्टल र सबै क्षेत्रका लोपोन्मुख सांस्कृतिक प्रस्तुतीले महोत्सवमा सबैको अपनत्व बढेको सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयो । महोत्सवमा ख्यातीप्राप्त कलाकारहरूले समेत प्रस्तुती राख्नुभएको थियो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले स्थानीय तहले गरेका राम्रा कामको बारेका जानकारी दिनुभएको थियो । संघले पाल्पा महोत्सव भव्य र सानदार रुपमा सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।