पाल्पा महोत्सवमा दुई दिनमै ९० लाखको कारोबार


पाल्पा, फागुन ३ ,

पाल्पा महोत्सवको दोस्रो दिन शुक्रबार सम्ममा ९० लाख बढीको कारोबार भएको छ । तानसेन ९ माडीफाँट दमकडा खेलमैदानमा फागनु १ देखि शुरु भएको मेलाको दोस्रो दिन शुक्रबार मात्रै ५ हजार बढी दर्शकले अवलोकन गरेको मेला आयोजक पाल्पा व्यापार संघले जनाएको छ । शुक्रबार लोक तथा दोहोरी गायक तेजस रेग्मी, हास्य कलाकार विष्णु जी पाण्डेय (माइला बा), दोहोरी गायिका रेखा बुढाथोकी र आधुनिक गायिका जमुना बिसी, लोक गायक सुमन गैरे लगाएतको प्रस्तुती थियो । छमछम कला केन्द्र, साइनिङ् स्टार डान्स एकाडेमीको नृत्य तथा कर्णाधार माध्यमिक विद्यालय र विक्रम आधारभूत विद्यालयको नृत्यले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
शनिबार ज्योति मगर लगाएतको प्रस्तुती
मेला सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेका अनुसार शनिबार (फागुन ३ गते ) गायिका ज्योति मगर, लोकपप गायक अर्जुन कौशल, लोकदोहोरी गायक मोहन खड्का, पाल्पा लोक आइडलकी धनमाया दिशुवामगरको प्रस्तुती रहनेछ । यस्तै हास्य कलाकार नारायण खड्का, दमकडा समूहको झाम्रे, शौभाम्य कला केन्द्र चिदीपानी र संगीता एण्ड द ग्रुप व्याण्डको समेत नृत्य र विद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम रहेको छ ।  महोत्सवमा कृषि सम्बन्धी २५, पर्यटन सम्बन्धी दश, लत्ताकपडा सम्बन्धी ५०, घरेलु तथा साना उद्योगका दश, बैंक तथा बित्तिय संघ संस्थाका २० , अन्य राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी गरी २५० बढी स्टल रहेका छन् । दमकडा माविका विद्यार्थीहरुले तयार गरेको भावी समग्र माडीक्षेत्रको रुपरेखा स्टलकै आकर्षक बनेको दर्शकहरुले जनाएका छन् ।
घरेलु उद्योगको रुपमा बिस्तार भएका फलामका औजार, तरकारी, मौरीका स्टलमा समेत सहभागीको भीड लागेको छ ।

ग्रामीण क्षेत्रमा पनि मेला महोत्सवको सम्भावना छ भन्ने उद्धेश्यले पहिलो पटक माडीफाटको दमकडा खेलमैदानमा मेला आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा गरिएको महोत्सवले बजारमा पुगेका मानिसलाई गाउँमा फर्काउन सहयोग पुग्ने समेत उहाको बिश्वास छ । केही बर्ष अघि मात्रै स्थापना भएको पाल्पा ब्यापार संघले पहिलो पटक पाल्पामा महोत्सवको आयोजना गरेको हो । यस अघि पाल्पा उद्योग बाणिज्य संघले बर्सेनी महोत्सवको आयोजना गर्ने गरेको थियो । गत वर्ष तानसेनको ग्रामिण भेग बाँसटारीका स्थानीयले समेत महोत्सव सम्पन्न गरेका थिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *