पाल्पा महोत्सवमा ३५ हजार बढीले अवलोकन गरीसके, अझै एक हप्ता बाकी

पाल्पा, फागनु ५,
दमकडा खेलमैदानमा जारी पाल्पा महोत्सवको चौथो दिन सम्म ३५ हजार बढीले मेला अवलोकन गरेका छन् । मेला आयोजक पाल्पा ब्यापार संघका अनुसार मेलामा अहिलेसम्म एक करोड ५० लाखको कारोबार भएको छ । मेलाको अन्तिम दिनसम्ममा ५ करोड बढीको कारोबार आयोजकको अपेक्षा छ ।  तानसेनको मुख्य बजार बाहिर सहरउन्मुख क्षेत्र दमकडामा भैरहेको महोत्सवमा दर्शकको उपस्थिति न्युन हुने आँकलन गरिएपनि अहिलेसम्मको दर्शकको सहभागीताले निकै उत्साहित बनाएको  महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो ।

मेलाको पहिलो दिन ८ हजार, दोस्रो दिन ५ हजार, तेस्रो दिन १५ हजार र चौथो दिन ७ हजार बढी दर्शकले मेलाको अवलोकन गरेका व्यापार संघका सचिव पर्शुराम पौडेलले जानकारी दिनुभयो । महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । पाल्पाका अधिकांश स्थानीय तहका कृषि र पर्यटनका स्टल रहेको स्टल संयोजक कमल ढकालले बताउनुभयो । पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका स्टललाई मेला भर्नेहरुले मन पराएका छन् । होत्सवमा मामाथागढीस्थित लघुउद्यम सीप विकास केन्द्रले तयार गरेको, स्वीटर, टोपी, मफलर, रुमालको समेत स्टल राखिएका छन् ।

बगनासकाली चिलाङ्दीमा खुमबहादुर विकले तयार पार्नुभएको फलामका हसियाँ, मकै छोडाउने मेसिन, दतिया, खुकुरी, ताउलो लगायतका सामग्री आकर्षक बनेका छन् ।  दमकडा र रिभर भ्याली बोर्डिङ् स्कुलले तयार गरेका भावी माडी उपत्यकाको सामग्री, मदनपोखराका किसान तथा कृषि सहकारी संस्थाले राखेका कृषि सम्बन्धी स्टल, मौरीको गोलासहितको स्टल, निस्दी काउलेडाँडामा उत्पादित अम्रिसोको कुचो समेत स्टलमा राखिएका छन् ।  महोत्सवको चौथो दिन लोकदोहोरी गायक श्रीस देवकोटा, शान्ति परियार, विष्णु ठडराई, पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतले आआफ्नो प्रस्तुती दिएका थिए । साइनिङ् स्टार डान्स एकाडेमी, सराई, राज मन्जु श्री कला केन्द्र, तानसेनको प्रस्तुती थियो ।
मेलाको सांस्कृतिक उपसमिति संयोजक थानेश्वर गैरेका अनुसार ५ गते सोमबार लोकदोहोरी गायक नारायण लेकाली, रामचन्द्र चन्द, सपना गाहा, हास्य कलाकार विजय बमडेल, कमल भट्टराई, जुम्बा फिटनेस एण्ड डान्स सेन्टर तानसेन, सराई खहरे महिला समूहको रत्यौली तथा विद्यालय स्तरीय नृत्यु प्रतियोगिता समेत हुने छ ।

 

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *