नमुना विद्यालयमा बाल उद्यान र चमेना गृहको संचालन

पाल्पा, माघ २७,
नमुना विद्यालय बन्न सफल पाल्पाको माथागढी गाउँपालिका–३ सराइस्थित दिब्यज्योती माध्यमिक विद्यालयमा बाल उद्यान र चमेना गृहको संचालन भएको छ । कार्यक्रमको उद्घाटन गर्दे ५ नम्बर प्रदेशका सांसद नारायण आचार्यले सामुदायीक विद्यालयमा जङ फुड पूर्ण रुपमा निषेध गर्नु पर्ने बताउनुभयो । मानव स्वास्थ्यमा असर गर्ने खालका खानेकुराहरु विद्यालयमा निषेध हुनुपर्नेमा उहाको जोड थियो । अभिभावकले आफ्ना बालबालिकालाई सजिलोको लागी जस्तोपनी खाना खुवाउने गरेको सांसद आचार्यले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष दीपक थापाले विकास निर्माणका काममा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । ‘जसले विकास गरेपनि यहि क्षेत्रको विकास हुने हो’ उहाले भन्नुभयो ‘प्रदेश सरकार र संघीय सरकारबाट यहाँको विकासको लागि सहयोग आउनेक्रम चलेको छ, जुन यहाँका जनताका लागि खुसीको कुरा हो । ”
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा नेपाल मगर संघ पाल्पाका अध्यक्ष तेजबहादुर घर्तिमगर र नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माले शैक्षीक गुणस्तर राम्रो हुनको लागि भौतिक संरचनाले पनि प्रभाव पार्ने बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम रानाले अभिभावक, शिक्षक र विद्यार्थीबीच समन्वय भएमा विद्यालयको विकास र विद्यार्थीको अध्ययन राम्रो हुनेमा जोड दिनुभयो ।

एसआरडिसीएन र विद्यालयको सहकार्यमा साढे तीन लाख लगानीमा बाल उद्यान संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखिराम रानाले जानकारी दिनुभयो । प्रदेश सरकारको सहयोगमा आधुनिक छात्रा शौचालय निर्माण भएको दिब्यज्योती माध्यमिक विद्यालयमा प्रतिनिधिसभाका सदस्य दलबहादुर रानाको पहल र नेपाल टेलिकमको सहयोगमा सुविधा सम्पन्न कम्प्युटर ल्याव समेत संचालनको तयारीमा रहेको बिद्यालयले जनाएको छ । नमुना विद्यालयको रुपमा छनोट भएको दिब्यज्योती विद्यालयमा अहिले १ हजार २५ विद्यार्थी अध्ययनरत छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *