पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा

पाल्पा, माघ २७,

पाल्पा व्यापार संघको आयोजनामा हुन लागेको पाल्पा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । तानसेन–९, दमकडा, खेलमैदानमा यही फागुन १ गतेदेखि ११ गतेसम्म हुन लागेको महोत्सव भव्य बनाउन मूल आयोजक समिति तथा उपसमितिले तयारी अन्तिम चरणमा पुर्याएको जनाएका छन् । आयोजकले स्टल व्यवस्थापन, मेला स्थलको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको हो । विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग छलफल गरेर महोत्सव सफल बनाउन काम गरिरहेको आयोजक पाल्पा ब्यापार संघले जनाएको छ ।   महोत्सवमा पाल्पाका दश स्थानीय तहका कृषि, पर्यटन र उद्योगका दुई÷दुई स्टल रहनेछ । पाल्पाका विभिन्न जातजाति तथा भाषाभाषीमा प्रचलित तथा लोपोन्मुक सांस्कृतिक झाँकी तथा कला संस्कृति प्रदर्शनका लागि सांस्कृतिक उपसमितिले तयारी गरेको जनाएका छन् । पाल्पाका दश वटै स्थानीय तहमा प्रचलित घाँटु, झाम्रे, करुवा , लाखे, भजन, चुट्का, ख्याली लगायतका तयारी गरिएको उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिनुभयो ।
महोत्सव मूल आयोजक समितिका संयोजक चिरञ्जीवि पोखरेलले महोत्सव सफल बनाउन सबैको सहयोग रहेको जानकारी दिनुभयो । पाल्पाको ग्रामीण क्षेत्रमा पनि विकासको सम्भावना छ भन्ने देखाउन दमकडामा महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सव मुख्य बजारमा मात्रै भन्दा पनि दमकडा, अर्गली, सराई सहित अन्य क्षेत्रमा पनि लगाउन सकिन्छ भन्ने उदाहरण पेश गर्न पनि ग्रामिण क्षेत्रमा मेला गर्नुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिनुभयो ।  महोत्सवबाट ठूलो नाफा कमाउने भन्दा पनि माडी क्षेत्रमा विकासको पहिचान गर्न, पाल्पाका विभिन्न स्थानका कृषि तथा घरेलु पर्यटन उद्योगको प्रचार गर्नमा सहयोग पुग्ने आयोजकले जनाएका छन् । कृषि र पर्यटन प्रबर्दन गर्ने स्टललाई निशुल्क प्रवेशको अवसर दिने उल्लेख गर्नुहुँदै अध्यक्ष पोखरेलले माथागढी क्षेत्रमा उत्पादन भएका बस्तुको प्रचारका लागि निशुल्क स्टल राखिने जनाएको छ । महोत्सव स्थल दमकडामा स्टल निर्माणको काम भईरहेको छ भने स्टेज निर्माण र बाल उद्यान निर्माणको काम अन्तिम चरणमा पुगेको स्टल व्यवस्थापन उपसमितिका संयोजक कमल ढकालले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *