पाल्पा, माघ २४ ,
पाल्पाको चिर्तुङ्धारामा ३ दिने आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, वडा समन्वय समिति चिर्तुङ्धाराको आयोजनमा बगनासकाली गाउँपालिका वडा नं. १ मा बिहिबार बाट तालिम संचालन भएको हो । तालिमको बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले उद्घाटन गर्नुभयो । आदिवासी जनजाति अन्य समुदायभन्दा पछि परेको उल्लेख गर्दे उपाध्यक्ष चिदिले आम संचारको क्षेत्रबाट आदिवासी जनजातिको मुद्दा शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपाािलकाले पछि परेका समुदायको भाषा, कला र संस्कृति संरक्षण गर्नुका साथै उनीहरुको क्षमता विकासमा ध्यान दिएको समेत उपाध्यक्ष चिदिको भनाई थियो ।
तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष सोमबहादुर झेडीले पत्रकारिता तालिमले यस क्षेत्रमा लाग्न चाहने युवालाई उत्साह थप्ने बताउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाट समाजलाई सकारात्मक बाटो देखाउने कार्यमा सरिक हुन सहभागीलाई आग्रह गर्नुभयो । तालिममा बगनासकाली–१ का २० जना आदिवासी युवायुवतीको सहभागिता छ । ३ दिन सम्म चल्ने तालिममा पत्रकार महासंघका पूर्व सचिव एवं नवसंवाद साप्ताहिकका सम्पादक रेखीराम राना र श्रीनगर एफएमका स्टेसन म्यानेजर देव पचभैंयाले सहजीकरण गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रम आदिवासी जनजाति महासंघ वडा समन्वय समितिका अध्यक्ष जोगबहादुर थापाको अध्यक्षता, सचिव ताराबहादुर सिंजालीको संचालन र सदस्य गोपालबहादुर थापाको स्वागतमा भएको थियो ।