देब पचभैया
पाल्पा, माघ २३ ,
नेपाल रेडक्रस सोसाइटी, पाल्पाको आगामी २९ गते बुधबार हुने अधिबेशनले नयाँ नेतृत्व चयन गर्दै छ । ४२ औ साधारणसभा तथा अधिबेशनमा जिल्ला भरीका १७ उपशाखाका १०५ प्रतिनिधिले कसलाई नेतृत्व चुन्लान् भन्ने आम पाल्पालीमा जिज्ञासा बढेको छ । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, मन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ६ पदाधिकारी र अन्य सदस्य गरी १७ जनालाई निर्वाचित गर्ने छ । कार्यसमितिको परामर्शमा रेडक्रसको क्षेत्रमा योगदान दिएकालाई अध्यक्षले मनोनित गर्ने यस अघिको ब्यवस्था अहिले हटेको छ । रेडक्रस सोसाइटी, पाल्पामा अहिले भीमभैरव, गौतमबुद्ध, रामपुर, हेक्लाङ्ग, सिलुवा, चाप्पानी,मणिमुकुन्द, पिपलडाँडा,देउराली, खालीवन, निस्दी, ताँहु, माण्डब्य, माथागढी, तिनाउँ, पालुङ्गमैनादी र श्रीनगर गरी १७ उपशाखा आवद्ध छन् ।
को को छन् अध्यक्षका दाबेदार ?
रेडक्रस सोसाइटी पाल्पाको नेतृत्वका लागि भीमसेन कार्की, शोभा शाक्य, कृष्ण अधिकारी, बुद्धिप्रसाद शर्मा र लिला कार्कीको चर्चा छ । यस मध्ये दुई कार्यकाल अध्यक्षको जिम्मेवारी समाल्नु भएका अहिलेका अध्यक्ष बुद्धि प्रसाद शर्मा निर्वाचनमा नहोमिने तर सहमति भए पुन नेतृत्व गर्न तयार रहेको बुझिएको छ । बर्तमान उपसभातिहरु शोभा शाक्य र कृष्ण अधिकारीले दुई कार्यकाल सम्म उपसभापतिको जिम्मेवारी समालेकाले अव नेतृत्वको पालो आफ्नो भएको बताउँदै आउनुभएको छ । बर्तमान कोषाध्यक्ष भीमसेन कार्की र बर्तमान सदस्य लिला कार्कीले पनि रेडक्रसको नेतृत्व समाल्दै पाल्पा शाखालाई उदाहरणीय शाखाको रुपमा अघि बढाउने बताउनुभएको छ । अन्य सँस्थामा जस्तो रेडक्रस सोसाइटीमा एक ब्यतिm कति कार्यकाल सम्म पदमा रहने भन्ने नियम छैन, जति कार्यकाल पनि बस्न पाउने ब्यवस्था रहेको छ ।