पाल्पा, माघ १२,
युवा संगठन पाल्पाको अध्यक्षमा लिला सारु मगर चयन हुनुभएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संगठन पाल्पाको, तानसेनमा सम्पन्न चौथो जिल्ला सम्मेलनले सारुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जिल्ला सम्मेलनमा प्रमुख आतिथि युवा संगठन नेपालका केन्द्रिय महासचिव सागर पुन, विशिष्ट अतिथि पाल्पा जिल्ला ईन्चार्ज पूर्ण सिंह, त्यसैगरी अतिथिहरु युवा संगठन लुम्विनी ब्युरो संयोजक विश्लेषण, अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो संयोजक विरेन्द्र बि.क. लगायतका नेताहरुको उपस्थिति रहेको जनाइएको छ ।
सम्मेलनमा प्रमुख अतिथि केन्द्रिय महासचिव पुनले युवाहरुलाई देश परिवर्तनका निम्ति क्रान्तिमा सहभागी हुन आव्हान गर्नुभयो । जिल्ला ईन्चार्ज पूर्ण सिंहले देशमा विद्यमान दलाल संसदीय व्यवस्थाको खारेजी र त्यसको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति एकीकृत जनक्रान्तिमा लामबद्ध हुन युवाहरुलाई आग्रह गर्नुभयो । युवाका व्युरो संयोजक विश्लेषण र विद्यार्थी व्युरो संयोजक विरेन्द्र विकले देशमा मौलाईरहेको भ्रष्टाचार, कालोबजारी, महंगी, करको क्रास, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा भईरहेको व्यापार, वैदेशिक हस्तक्षेप, एमसिसि जस्ता विकराल समस्याहरुको विरुद्धमा उत्रिन युवाहरुलाई अपिल गर्नुभयो । सम्मेलनमा जिल्लाको विभिन्न स्थानका युवाहरुको सहभागीता रहेको युवा संगठन पाल्पाले जनाएको छ ।