आदिवासी जनजातिहरुलाई पत्रकारिता तालिम

पाल्पा, माघ ९,
पाल्पाको बगनासकाली गाउँपालिकाका आदिवासी जनजातिहरुलाई पत्रकारीता तालिम दिइएको छ । आदिवासी जनजाति समन्वय समिति बगनासकाली गाउँपालिकाको आयोजना र बगनाकाली गाउँपालिकाको सहयोगमा आदिवासी जनजाति युवाहरुका लागि सञ्चालित ३ दिने आधारभुत पत्रकारिता अभिमुखीकरण तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दे प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आवाज बिहिनहरुको आवाजलाई बाहिर ल्याउन आदिवासी जनजातिहरुलाई पत्रकारीताको तालिम दिइएको बताउँनुभयो । समाजमा लुकेका , समस्यामा परेकाहरुको आवाजलाई सहयोग गर्दे सामाजिक बिषयहरुलाई उठान गर्न प्रशिक्षार्थी पत्रकारहरुलाई अध्यक्ष बस्यालले आग्रह गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्र र स्थानीय सरकारको समन्वयकारी भूमिकाकै कारण बगनासकालीको बिकासमा सहज भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले तालिमका माध्यमबाट आर्जन गरेको सिप ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा प्रमुख प्रशिक्षक श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले आदिवासी जनजाति समुदायका आर्थिक, सामाजिक साँस्कृतिक अधिकार र उनीहरुका सवाललाई उठाउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।
चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र मार्फत पालिका भित्रका आदिवासी जनजातिहरुलाई उकास्न र समग्र संचार क्षेत्रमा आकर्षित गराउनका लागि पत्रकारीता तालिमको आयोजना गरिएको आदिवासी जनजाति समन्वय समिति बगनासकालीका संयोजक टिकाबहादुर थापाले जानकारी दिनुभयो । तालिममा सहभागि उर्मिला कुवरले तालिमले आफूमा मात्रै नभएर सहभागी सबै साथीहरुको नेतृत्व बिकास भएको र तालिम प्रभावकारी भएको बताउनुभयो । ३ दिन सम्म चलेको तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, गोरखापत्रका पाल्पा समाचारदाता रेखीराम राना, पाल्पा समाचारपत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सिना, रेडियो कुटुम्बका स्टेशन म्यानेजर नारन न्यौपाने, नागरिक दैनिकका मुक्ति प्रसाद न्यौपाने, मेचीकाली दैनिकका नेत्र गैरे, पाल्पा आवाज पत्रिकाका दयाराज न्यौपाने लगायतले सहजीकरण गर्नुभएको थियो । तालिममा बगनासकाली गाउँपालिका भित्रका ९ वटा वडाका जनजाति समुदायका ३१ जना युवायुवतीहरुको सहभागिता थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *