माघे सङ्क्रान्ति मगर र माघी पर्व थारुले धुमधामका साथ मनाउँदै

 

 

पाल्पा, माघ १ ,

आज माघे सङ्क्रान्ति । मगरहरुले माघे सङ्क्रान्ति र थारुहरुले माघी पर्वका रुपमा धुमधामका साथ मनाउँदै छन् । आज सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले पनि माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात क्रमशः छोटो हुँदै जान्छ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन रानीघाट, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । बिहानैदेखि स्नान गर्ने र मेला भर्नेको घुइँचो लागेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।


तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन । उनीहरुमा आज भने अनिवार्य नुहाउनु पर्ने मान्यता रहेको छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । जाडो मौसममा शरीर न्यानो पार्ने परिकार खानुलाई वैज्ञानिक पक्षसँग पनि जोडेर हेर्ने गरिन्छ ।
मगरहरुले माघे सङ्क्रान्तिमा आफ्ना चेलीबेटी तथा आफन्तहरुलाई बोलाएर खानपिन र नाँचगानका साथ मनाउँदै छन् । मगरी खाजा बटुक सेलरोटी, बंगुरको मासु तथा बनतरुल र सखरखण्ड जस्ता परिकारका साथ मगरहरुले माघे संक्रान्ती धुमधामका साथ मनाउन लागेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *