पाल्पा, पौष २१
अमेरिका र ईरानबीच बढेको तनावले नेपालीको चिन्ता थपिएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका खाडी क्षेत्र संगै अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता थपिएको हो । यस विषयमा सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन भनिएको परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । खाडीमा कार्यरत नेपालीहरुलाई दूतावासको सम्पर्कमा रहन पनि सरकारले अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको जनाएको छ ।
सरकारले इराकमा काम गर्न रोक लगाए पनि अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन भन्ने यकिन तथ्याङ्क छैन । मध्य–पूर्वका अरु देशमध्ये साउदीमा झण्डै चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी नेपाली छन । यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेको तथ्याङ्क छ । अमेरिका र इरानबीच द्वन्द्व बढिरहँदा यसबाट इराक र इरानसँगै मध्य–पूर्वका देशहरुमा असर पर्छ । ती देशमा लाखौँ नेपाली रोजगारीको सिलसिलामा पुगेका छन । द्वन्द्व चर्किंदा त्यहाँ रहेका नेपालीलाई प्रत्यक्ष असुरक्षा बढ्ने त छँदैछ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्न सक्ने देखिएको छ । साउदी, कतार, मलेसिया, यूएई, बहराइन, कुबेत, इजरायल र लेबलान लगायतका देशबाट नेपालमा बर्सेनि तीन खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदै आएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।