काठमाण्डौं, पौष ३
के तपाई रिचार्ज कार्डको पिन नम्बर कोरिएर वा बिग्रिएर हैरान हुनुहुन्छ ? वा समस्या थपिएपछि टेलिकमको कार्यालयमा धाईरहनुभएको छ ? यदि त्यसो हो भने अव समस्या छैन । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा दिएको छ । कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा उक्त रिचार्ज कार्ड प्रयोग गर्न समस्या थियो । जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ । तर, अब भने त्यो समस्या ग्राहकका लागि दोहोरिने छैन, किनकी टेकिमले रिचार्जमा जम्मा ६ वटा अंक बुझिने भए पनि नयाँ पिन नम्बर उपलब्ध गराउने भएको हो ।
यसका लागि तपाईले टेलिकमको कार्यालयमा धाउनु पनि पर्दैन । घरबाटै रिचार्ज गर्न पनि सकिन्छ । कार्डको पिन नम्बर प्रष्ट नभए वा कोरिए ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्ने छ । त्यसका लागि टेलिकमको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्नुपर्छ । रिचार्ज कार्डमा भएको १६ अंकको पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिनु पर्छ । यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमले भनेको छ । कम्तीमा ६ अङ्क पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्नेछ । यसअघि कोरिएका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमा पुग्नुपर्ने समस्या थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।