जनप्रतिनिधि,कर्मचारी र नेताका सदस्यता नवीकरण नगर्ने महासंघको निर्णय

काठमाण्डौं, पौष १
नेपाल पत्रकार महासंघले जनप्रतिनिधि, सरकारी कर्मचारी र नेताका सदस्यता नबिकरण नगर्ने निर्णय गरेको छ ।   निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामति कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरुको सदस्यता नवीकरण नगर्ने निर्णय भएको महासंघले जनाएको छ ।

नवलपरासीमा भएको पत्रकार महासंघको केन्द्रीय समितिको बैठक एवम् सांगठनिक भेलाले महासंघको संगठन शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउन उक्त निर्णय गरेको महासंघका सचिव उदय जिएमले जानकारी दिनुभयो । सचिव जिएमका अनुसार मंसिर २९ र ३० गते भएको महासंघका पदाधिकारी, केन्द्रीय संगठन समितिका सदस्य एवं प्रदेश अध्यक्षहरुको सहभागितामा भएको भेलाले महासंघको नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरणसम्बन्धी कार्यविधि २०७६ पारित गरेको हो । बैठकको पारित कार्यविधि तथा विधानको व्यवस्थाका आधारमा आगामी पुुस मसान्तसम्म शाखामार्फत नयाँ सदस्यताको आवेदन लिई माघ १५ गतेसम्म शाखाले अनुमोदनका लागि प्रदेश समितिमा सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

प्रदेश समितिले फागुन १५ सम्म केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ । महासंघको बैठकले पत्रकारिताको सिलसिलामा विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण, धम्की र कुटपिटका घटना वृद्धि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारहरुको सुरक्षामा गम्भीर बन्न र प्रेस स्वतन्त्रता विराधी कार्यमा संलग्न दोषीहरुलाई कारबाही गर्न सरकारसंग माग गरेको छ । घाइते पत्रकारहरुको उपचार व्यवस्था गरी क्षतिपूर्ति दिलाउन समेत सरकारको ध्यानआकर्षण गराएको छ । प्रेस काउन्सिललाई थप स्वायत्त र स्वतन्त्र बनाइनु समेत महासंघले माग गरेको छ । महासंघले न्याय क्षेत्रका व्यक्ति काउन्सिलको प्रमुख नेतृत्व हुनुपर्ने, पत्रकार आचार संहिता उल्लंघनमा कुनै पनि दण्ड, जरिवाना वा क्षतिपूर्तिका प्रावधान नराख्न समेत माग गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *