भित्रियो नेपालमा बर्ड फ्लू

काठमाण्डौं, माघ १८
नेपालमा बर्ड फ्लू भित्रिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय ५६ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्कीसँगै ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग अन्यत्र फैलन नदिन बर्ड फ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागले विज्ञप्ती निकालेर स्पष्ट पारेको छ ।

विभागले नेपालमा बर्ड फ्लूको जोखिमलाई ध्यान दिएर रोग रोकथाम तथा नियन्त्रण सम्बद्ध निकायहरुलाई सतर्क अवस्थामा राखेको छ ।
पशु सेवा विभागले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अपनाउन, फार्मलाई नियमित रुपमा निसंक्रमण गर्न तथा कुनै पन्छी बिरामी परेमा पशु सेवाका निकायमा सूचना गरीदिन विभागले भनेको छ । गएको महिना भारतका विभिन्न स्थानमा बर्ड फ्लू रोग देखा परेपछि नेपालमा पनि सतर्कता बढाइएको थियो ।