पाल्पा दुर्घटना ः तिनाउँ गाउँपालिकामा आज शोक विदा, ज्यान गुमाएकाको परिवारलाई राहत दिने निर्णय

पाल्पा, फागुन २

१० जनाको ज्यान जाने गरी पाल्पामा भएको जिप दुर्घटना पछि तिनाउँ गाउँपालिकाले आज शोक विदा दिएको छ । दुर्घटनामा ज्यान गुमाएका १० मध्ये आफ्ना पालिकाभित्रका ५ जनाको परिवारलाई जनही ३५ हजारका दरले राहत दिने समेत निर्णय गरेको छ ।
दुर्घटनापछि शोकमा रहेको पालिकाले सम्पूर्ण शैक्षिक संस्था, सरकार, स्वास्थ्य तथा स्थानीय तह मातहतका कार्यालयहरुमा शोक विदा दिने निर्णय भएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । बुधबार विहान बसेको बैठकले पालिकाको विपदब्यवस्थापन कोषको रमक बाट राहत दिने निर्णय भएको समेत अध्यक्ष प्रेम श्रेष्ठको भनाई छ । घाईतेहरुको उपचारका लागि सम्बन्धित स्थानमा समन्वय गर्ने समेत बैठकले निर्णय गरेको छ ।

मंगलबार भएको जिप दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामकी पूर्व वडा सदस्य २८ वर्षिया उर्मिला अस्लामी सहित तिनाउ गाउँपालिका भित्रका ६० वर्षकी यनकुमारी पन्त, ३९ वर्षिय रामबहादुर पन्त, ६७ वर्षका कृष्णबहादुर अस्लामी, र २० वर्षिय गिता सुनार गरी ५ जनाको ज्यान गएको थियो । अन्य ज्यान गुमाउनेहरुमा बुटवल उपमहानगरपालिका १४ तामनगर रुपन्देहीका ७० वर्षिय चन्द्र रणपाल, सोही स्थानकी ६० वर्षिया चुना रणपाल, देबदह नगरपालिका ५ रुपन्देहीकी २९ वर्षिया दिलमाया जिसि, रिब्दीकोट १ ख्याहाकी ६५ वर्षिया दिल कुमारी सुनार र सोही स्थानकी ६६ वर्षिया बिष्णुकला कामी ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भैरहेको छ ।

घाईते तानसेन ७ , तिन्तेआपका ४२ वर्षिया सबिता परियार, तिनाउँ गाउँपालिका ६ की २० वर्षिया कृष्णा पन्थ, १९ वर्षिया उमा रास्कोटी, सोही स्थानकी १९ वर्षिया शान्ती राना, ९ वर्षिय सौरभ पुन, २१ वर्षिया अम्रिता गहतराज, २८ वर्षिया कमला सुनार, ४५ वर्षिय तुल बहादुर नेपाली, तिनाउँ २ खुर्सानेकी २० वर्षिया गिता सुनारकी छोरी ३६ दिनकी स्वस्तिका सुनार , रुपन्देही देबदह ५ खैरेनीका ९ वर्षिय विवेक जिसि, ६ वर्षिय अस्मित जिसी , रिब्दीकोट १ ख्याहाकी ३० वर्षिया रमा सुनार, ६ वर्षिया साया सुनार, ५ वर्षिय आलब सुनार, ६ वर्षिय विद्या सुनार र रुपन्देही कन्चन गाउँपालिका हरैयाकी ३० वर्षिया भूमि पुन रहेका छन् ।
तानसेन बुटवल सडक खण्डमा पर्ने सिद्धार्थराजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको भित्रि कच्ची सडक चिदिसका लागी छुटेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक बाट जिप ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक तानसेन नगरपालिका १० का ४५ वर्षिय दान बहादुर चिदिलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । क्षमता बढी यात्रु र सामान बोकेको जिपले उकालोमा तान्न नसकी पछि हटेकाले सो दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *