पाल्पा, पौष २३
नेपाल प्रहरीका महानिरिक्षक बसन्त बहादुर कुवरले जनताको सुरक्षाका लागी रातदिन खट्ने प्रहरीका भौतिक संरचनामा सरकारको ध्यान नपुगेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाको परिसरमा नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघरको आईतबार समुद्घाटन गर्दे प्रहरी प्रमुख कुवरले दिनरात खट्ने प्रहरीले भौतिक संरचनाको अभावमा समस्या झेलिरहेको बताउनुभएको हो । केही वर्ष अघि शुरु भई अहिले निर्माण भएका वाहेक प्रहरी भवन तथा आवास गृह निर्माणका लागी अहिले बजेटनै नरहेको उहाँको गुनासो छ ।
केही स्थानमा परेका बजेट पनि कटौती भएको भन्दै महानिरिक्षक कुँवरले यस तर्फ ध्यान पुर्याईदिन सबैसंग आग्रह गर्नुभयो । जनता संग प्रतक्ष्य जोडिएको प्रहरी सेवा र सहयोगलाई थप प्रभावकारी बनाउन पनि भवन तथा आवास गृहको ठुलो भुमिका रहेको उहाँको भनाई छ । शान्ति सुरक्षा कायम गर्न प्रहरीसहित आम नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रहरी प्रमुख कुवरले स्थानीय, प्रदेश सरकारसँग मिलेर कुलतमा फसेका र अप्ठेरोमा परेका नागरिकको सेवाका लागि पनि प्रहरीले नवाँ योजना बनाइरहेको बताउनुभयो ।
नेपाल सरकारको छ करोड ९५ लाखमा भान्सा घर, स्नान घर, शौचालय, हिरासत कक्ष, व्यारेक तथा प्रहरी प्रमुख र प्रहरी अधिकृतको भवन बनेको हो ।