यस वर्ष दशैँ टीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

पाल्पा, असोज १७
यस वर्ष विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बडादशैँ अर्थात दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत हुने पनि उहाँले जानकारी दिनुभयो । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत दिइएको समितिको भनाई रहेको छ । गएको साउन महिनामा अधिकमास (मलमास) परेकाले यस वर्ष असोज अन्तिमदेखि हिन्दु नेपालीको महान पर्व बडादशैँ शुरु हुँदैछ । कात्तिक पहिलो हप्ता बडादशैँको मुख्य दिन अर्थात विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *