पाल्पा, असोज १७
लम्पीस्कीनबाट गाईभैसी मरेपछि बिमाबापतको रकम नपाएको भन्दै पाल्पाका कृषकहरुले गुनासो गरेका छन् । लम्पीस्कीनलाई सरकारले महामारीको घोषणा गरेको भन्दै बिमा कम्पनीहरुले किषानलाई बिमा बापतको रकम नदिएको उनीहरुको भनाई छ । शयौपटक विमा कम्पनीमा धाउँदा समेत कुनै सुनुवाई नभएको बरु केन्द्रमा जान भन्दै बिमा कम्पनीका जिल्ला शाखाहरुले दवाव दिएको चार वटा गाई गुमाएका कृषक टिकाराम रेश्मीले गुनासो गर्नुभयो । चिनारी दुग्घ सहकारी संस्थाका अध्यक्ष समेत रहेका रेश्मीले आफ्ना सदस्यहरुको १८ बढी गाईभैसी लम्फीस्कीन बाट मरेपनि बिमा बापतबाट पाउनुपर्ने रकम अहिले सम्म नपाएको जानकारी दिनुभयो । जिल्लामा शाखा रहेका सिद्धार्थ ईन्सुरेन्स, सगरमाथा इन्सुरेन्स, सिखर इन्सुरेन्स लगाएतका इन्सुरेन्समा बिमा गरेका कृषकहरुले विमा बापतको रकम नपाएको रामपुरका किसान विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
लम्पीस्कीन बाट पशुचौपायमरेका कृषकलाई संघिय सरकारले प्रति चौपाय २० हजारका दरले आर्थिक सहयोग गर्ने कुरा संचारमाध्ययमा सुनेपनि कुनै सहयोग प्राप्त नभएको लम्पीस्कीन बाट ६ वटा गाई गुमाएका कृषक रुकबिर रेश्मीले जानकारी दिनुभयो । आफूहरुले एक लाख बढी खर्चेर उन्नत जातको गाई खरिद गरेको तर सरकारले जम्मा २० हजारका दरले सहयोग गर्ने कुरा सुनेको रेश्मीको गुनासो छ । बिमा गरेको रकम प्राप्त भएबरु आफुहरुलाई नयाँ गाई भैसी खरिद गर्न सहयोग पुग्ने कृषकहरुको भनाई छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाका प्रमुख दुर्गा खनालले बिमाकम्पनीबाट राहत नपाएको दर्जनौ कृषकहरुको गुनासो आएको जानकारी दिदै महामारीको बारेमा आफूहरुलाई प्रदेश र संघ कहिबाट पनि जानकारी तथा निर्देशन नआएको बताउनुभयो । महामारी घोषणाको नाउँमा बिमा गरेका कृषकलाई कम्पनीहरुले राहत रोक्न नमिल्ने समेत खनालको भनाई छ । सिद्धार्थ इन्सुरेन्स पाल्पाका शाखा प्रमुख तारा खनालले आफ्नो कम्पनीको जिल्ला शाखा बाट बिमा गरेका तर लम्पीस्कीन बाट मरेका १६ बढी गाईभैसीको राहत रकम रोकिएको जानकारी दिनुभयो । केन्द्रको निर्देशन अनुसार तेसो गरीएको उहाको भनाई छ ।