३३ वर्ष पछि पाल्पामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

पाल्पा, जेठ १

झण्डै ३३ वर्ष पछि पाल्पामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । यही जेठ १२ देखि २७ गतेसम्म ‘पाल्पा गोल्ड कप’ फुुटबल प्रतियोगिता हुने भएको हो । तत्कालिन जनरल कर्णेल उजीर सिंह थापाको सम्झनामा सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा हुने प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमको सहभागीता रहने आयोजक पाल्पा फुटबल संघले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी र मेडल पाउनेछन् । यस्तै दोस्रो हुनेले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिनुभयो ।प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ ।

उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएका हुन् । संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानरका लागि १५ हजार सहयोगको अपेक्षा गरेको छ ।  विभिन्न व्यक्ति, क्लब तथा स्थानीय निकायबाट सहयोग जुट्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा १३ वर्षसम्मको बालवालिकालाई निःशुल्क प्रवेश दिइने छ । अस्थायी प्याराफिटमा बस्ने दर्शकले ७० रुपैयाँ , ग्राउण्डका दर्शकले ५० रुपैयाँ तिर्नु पर्नेछ । जेष्ठ नागरिक, विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने छ । प्रतियोगिता अवधिभरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नेले विशेष पास पाउनेछ । प्रतियोगितामा १५ खेल हुनेछ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *