राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

पाल्पा, बैशाख ३०
राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएको हो । उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्र्यो । आर्मीलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले १० हजार रुपैयाँ समेत प्राप्त गर्नुभएको छ । चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई वीच भलिबलको हब बनाउने उद्धेश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो । समापन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गर्नुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई वीच भलिबलको केन्द्र बनाउने घोषणा गर्नुभएको थियो । खेलकुदमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *