पाल्पा, बैशाख ६
तानसेनका ५७ पसल तथा घरटहराहरुमा डोजर लगाइएको छ । तानसेन नगरपालिकाले तेर्सोसडक तथा सित्तलपार्टी मुलढोका क्षेत्रका पसल तथा घरटहरामा बुधबार विहान ७ बजे देखि डोजर चलाएको हो ।
पाल्पा दरबारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न र पर्यटकीय स्थलको रुपमा विकास गर्न घरटहरा हटाइएको तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजालीले जानकारी दिनुभयो ।
नगरपालीकाका प्रवक्ता यादब कार्कीले ३५ दिने सूचना जारी संरचना हटाएको बताउनुभयो । टहरा हटाएपछि तत्कालै त्यस स्थानमा सरसफाई गर्ने र दरबार परिसरको ऐतिहासिकता कायम गरि सुन्दर बनाउने नगरपालिका र पुरातत्व विभागको योजना रहेको जनाइएको छ ।तानसेन नगरपालीकाको स्वामित्वमा रहेको जग्गामा नगरपालीका तथा अन्य सामाजिक संस्थाहरुले टहरा बनाएर भाडामा लगाएका थिए । ब्यापारी तथा ब्यवशायीहरुले भने नगरपालिकाले आफूलाई अन्याय गरेको गुनासो गरेका छन् ।
३५ दिने सुचनाका आधारमा आफुहरुलाई बिस्थापित गरेको उनीहरुको भनाई छ । उनीहरूले दरबार परिसरभित्रका अन्य कार्यालय समेत हटाउन माग गरेका छन् । संघर्ष समिति निर्माण गरि चरणबद्ध रुपमा आन्दोलन गर्दे आएका ब्यापारी ब्यवशायीहरुले आफूहरुको माग प्रति कसैले ध्यान नदिएको जनाएका छन् ।