
पाल्पा, मंशिर २०
पाल्पामा विहे भोज खाएर विरामी हुनेको संख्या ढेडसय नाघेको छ । गएको शनिबार बिहेभोज खाएपछि बिरामी परेका चिर्तुङधारा घोरबन्दा गाउँका ढेड सय बढी गाउँलेको उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएर उपचार शुरु गरेको छ । बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधारामा भोज खाएको दिन शनिबार राती देखि नै बिरामीहरु स्थानीय निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि धेरै जसो गाउँमै भएकाले गाउँपालिकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि खटाएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो । बिरामीहरुलाई स्वास्थ्य जाँच गरी प्राथमिक उपचार, स्लाईन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराज अधिकारीले वताउनुभयो ।

गाउँमा वितरण गरिएको औषधिले काम नगरेको भन्दै कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गैरहेका छन् । बिरामी भएकाहरुमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको हो । पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको वडा अध्यक्ष शेर बहादुर थापाले जानकारी दिनुभयो । पानीमा समस्या भएको हुन सक्ने स्थानीयको अनुमान पछि स्वास्थ्य कार्यालय पाल्पाले पानीको जाँचका लागिसमेत टोली खटाएको छ । बिहेमा सहभागी ३ सय ५० बढी निम्तालु मध्ये अधिकांश बिरामी भएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
शनिबार बगनासकाली –१, चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेका हुन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट आएका ४० बढी जन्ती समेत बिरामी भएको जनाइएको छ । भोजमा राँगोको मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।