काठमाण्डौं, भाद्र २७
देशभरी फैलिएको डेंगु संक्रमणबाट सात जनाको ज्यान गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु छन् । ज्यान गुमाएका मध्ये निर्सग अस्पतालमा ३५ बर्षिया महिला, कान्ति बाल अस्पतालमा तीन बर्षीया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्षीया महिला, भेरी अस्पतालमा १२ बर्षीया बालिका छन् । यसैगरि चितवन मेडिकल कलेजमा २५ बर्षीया महिला, ग्राण्डी र समेरू अस्पतालमा डेंगु संक्रमितको ज्यान गएको हो । सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या मात्र हेर्दा पनि गत साउनयता ८ हजार ३२७ जना डेंगुको समस्यामा परेका छन् । डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यका प्रभावति भएको छ । सरकारी तथ्यांक अनुसार साउनयता सबैभन्दा बढी बागमती प्रदेशमा ६,२०५, लुम्बिनीमा प्रदेशमा १,२८४, प्रदेश १ मा २८२, सुदुरपश्चिम प्रदेशमा २०६ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा १५०, मधेशमा १४४ र कर्णाली प्रदेशमा ५६ जनामा संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार सन् २००५ मा डेंगु पुष्टि भएको रेकर्ड छैन भने सन् २००६ देखि सन् २०२१ सम्ममा २५ हजार ९६७ जनामा डेंगु पुष्टि भइसकेको छ । प्राय दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न विज्ञहरूको सुझाव छ ।