बेलायतमा नेपाली नर्स पठाउने प्रकृया अघि बढाउन सरकारको अनुमति

काठमाण्डौं, श्रावण १०
नेपाल सरकारले बेलायतमा रोजगारीका लागी नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिएको छ । एक मन्त्रीका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्रिपरिषद्ले श्रम स्वीकृति गर्न सक्ने गरी मस्यौदा समझदारीलाई स्वीकृत दिएको हो । मासिक बढीमा नेपाली ४ लाख रुपैयाँसम्म तलब प्राप्त हुने गरी रोजगारीका लागि नर्स पठाउने प्रक्रियाबारे बेलायतसँग सम्झौता हुने तयारी छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेपछि मन्त्रिपरिषद्मा छलफल पछि सो प्रस्ताव पारित भएको हो ।

बेलायतले पहिलो पटक २–३ सय नर्सलाई आफ्नो देशमा रोजगारी दिन चाहेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिस्तारै १० हजार जनशक्ति बेलायत पठाउन सकिने छ । श्रम मन्त्रालयले बेलायतमा रोजगारीका लागि शुरुमा २ हजार नर्स पठाउन तयार रहेको जनाएको छ । स्वीकृत श्रम समझदारीअनुसार रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाइन लागेको हो । मन्त्रालयका अनुसार यो मोडलमा कुनै पनि तेस्रो पक्षको संलग्नता हुँदैन र दुईवटा सरकारबीचको समझदारीमा कामदार पठाउने गरिन्छ । जीटूजी मोडलमा नेपाल सरकारले इजरायल र कोरियामा पनि कामदार पठाउँदै आएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *