पाल्पाको रानीमहलमा हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा

पाल्पा, चैत्र २२

कालीगण्डकी किनार पाल्पाको रानीमहलको काखमा हुने सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै विभागीय टोलीहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बिच भलिबलमा भाग लिने सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । प्रतियोगिताका लागि रानीमहलको काखमा बिच भलिबलको कोर्ट तयार भएको उहाको भनाई छ । प्रतियोगिताका लागि बुधबार खेलाडीहरू पाल्पा आइपुग्ने छन् । बिच भलिबलका लागि नेपाल पुलिस क्लबबाट कमला पुन र मनिसा कुमारी चौधरीको जोडी रहेका छन् ।
यस्तै एपीएफ क्लबबाट रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी रहेका छन् । प्रदेश १ बाट अञ्जना लिम्बु र प्राशी गौतम रहेका छन् । मधेस प्रदेशबाट नेहाकुमारी चौधरी र सविनाकुमारी चौधरीको सहभागीता हुने छ । बागमती प्रदेशबाट रोजीना कुमाल र मोनीका महतोको जोडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजकका अनुसार सुदूरपश्चिमबाट भागिरथी जोशी र बबिता बोहोरा , कर्णाली प्रदेशबाट आहाराकुमारी शाही र हीरा जैसीको जोडी छ । लुम्बिनी प्रदेशबाट भावना डाँगी र सरस्वती कट्टेल रहेका छन् । गण्डकी प्रदेशबाट पवित्रा बिसी र रेवीना घर्ती मगर रहेको नेपाल भलिबल संघका प्रदेश १ का महासचिव लेखनाथ पराजुलीले जानकारी दिनुभयो ।

बिजेता पहिलो हुनेले नगद १ लाखका साथै ट्रफी,मेडल तथा प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले नगद ५० हजार र ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन् । सहभागी खेलाडीहरुलाई आतेजाते यातायात खर्च, खाने बस्नेका साथै केही रकमसमेत दिइने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीका लागि नगद ३५ हजारका साथै ट्रफी,मेडल तथा प्रमाण पत्र रहेको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै ३० लाख खर्च हेन आयोजकले जनाएका छन् ।
पाल्पाका लागि एउटा थप ऐतिहासिक इभेन्ट राष्ट्रियस्तरको महिला विच भलिवल प्रतियोगिता भएको नायक धीरेन शाक्यले बताउनुभयो । विच भलिवलको इतिहास नेपालमा छोटो भएतापनि हालसम्मका प्रयास र प्रयत्नहरुले यस खेलको भविष्य उज्वल देखिएको उहाँको भनाई छ । पाल्पा र छिमेकको विकासमा खेल पर्यटनको योगदान पुग्ने लक्ष्य लिएर यही क्षेत्र छनोट गरेकामा खुसी लागेको सञ्जय स्मृति प्रतिष्ठानका सल्लाहकार अशोकमान महर्जनले बताउनुभयो । उहाले यो प्रारम्भवाट यस क्षेत्रको दिगो विकासमा प्रभाव पार्ने विश्वास रहेको बताउनुभयो । प्रतियोगिता सञ्चालकालागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्याण्डीडेट विजय केसी र विकास गुरुङ रहेका छन् । पाल्पा रुपन्देही र कास्की जिल्लाका राष्ट्रिय रेफ्रीहरुका साथै पाल्पा जिल्लाका प्रादेशिक रेफ्रीहरु रहने सल्लाहकार तथा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगिता विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा हुनेछ । सहभागि सम्पुर्ण खेलाडीहरुका लागि २ लाख बरावरको बिमा गरिएको छ । सहभागि सम्पूर्ण खेलाडीकालागि खेल पोशाक दिइने जनाइएको छ ।

पत्रकार भेटघाट कार्यक्रमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले पर्यटकीय क्षेत्रका रुपमा परिचित रानीमहलको अझ प्रसार प्रसार हुने भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, प्रतिष्ठानका सल्लाहकार प्रणयजंग राणा लगायतले पर्यटन प्रवद्र्धनका लागि रानीमहलमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिता सहयोग हुने बताउनुभयो । समुन्द्र किनारा वा बालुवामा खेलिने खेल भएकाले यसलाई विच भलिबल भनिएको हो । प्रतियोगिता सम्पन्न गर्नकालागि सवैको सक्रिय सहभागिता र सहयोगको आवश्यकता रहेको आयोजकले जनाए । सञ्जय स्मृति फाउण्डेसनका अध्यक्ष निरोज मास्केको अध्यक्षता, सचिव प्रणयजंग राणाको स्वागत र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *