काठमाण्डौं, फागुन २२
साहित्यकार विजय हितानमगर द्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डाक्टर मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक र वक्ताहरूले उक्त पुस्तक एक दस्तावेजको रूपमा ऐतिहासिक बन्ने निचोड निकालेका छन् । विजय हितानका शुभचिन्तक र नेपाली साहित्यमा कलम चलाउँदै आएका विभिन्न स्रष्ठाहरूको बाक्लो उपस्थिति रहेको सो विमोचन कार्यक्रमको सभापतित्व नेपाल मगर लेखक संघका अध्यक्ष डा.विष्णु सिङ्जालीले गर्नुभएको थियो भने विशेष अतिथिको आतिथ्य प्राज्ञ श्रवण मुकारुङ र नेपाल मगर संघकी उपाध्यक्ष गङ्गा खासुले गर्नुभएको थियो । पुस्तकको समीक्षा साहित्यकार भावेश भुमरी र लेखक अनिता पुनले गर्नुभयो । अनिता पुनले विजय हितानको लेखकीय क्षमता र पुस्तकमा रहेका विभिन्न लेखरचनाका बारेमा समीक्षा गर्नुभयो । विजयले आफ्नो समय सामाजिक कार्य र लेखनमा लगाएको भन्दै अनिताले यस पुस्तकले मगर समाजका लागि अत्यन्त महत्वपूर्ण अर्थ दावी गर्नुभयो । उहाले यसरी नै मगर संस्कृति, भाषा र अन्य क्षेत्रमा पुस्तकहरू ल्ेखिनुपर्नेमा जोड दिनुभयो ।
साहित्यकार भावेश भुमरीले पुस्तकको समीक्षा गर्दै पठन पाठन्लाई भन्दा मनोरञ्जनलाई बढी महत्व दिने मगर समाजबाटै आएको र लेखन कार्यमा लाग्दा निक्कै सङ्घर्ष गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले विजय हितान अनि अन्य मगर साहित्यकारहरूको संख्यामा विस्तारै वृद्धि भएको भन्दै आउँदा दिनमा शैक्षिक र सिर्जनात्मक चेतबाटै समाजमा परिवर्तन ल्याउन सकिने हुँदा मगर समाजमा शिक्षा र सिर्जनाप्रतिको लगावमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । उहाले हितान साहित्यकार मात्र नभई बेलायतजस्तो सम्पन्न देशमा बसेर पनि हरेक दिन नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने समाजसेवी भाव भएको बताउनुभयो । भाषासम्पादनका क्रममा यो पुस्तक धेरैपटक पढेको र यसले विशेषतः मगर जातिका लागि दस्तावेजको रूपमा महत्वपूर्ण बन्ने उहाका भनाई छ । मगरहरूले ऐतिहासिक समयदेखि नै आफ्ना कुरालाई दस्तावेजको रूपमा लिपिबद्ध नगरेकै कारण यो जाति पछि परेको कुरा स्मरण गर्दै भुमरीले अब मगहरूले आफ्ना कुराहरूलाई हितानले जस्तै लिपबिद्ध गर्नुपर्ने जोड दिनुभयो ।
विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक विजय हितानले आफूले ठूलो उद्देश्य लिएर यो पुस्तक नलेखेको भन्दै आफूले अध्ययन गरेका, देखेका मात्र नभई कार्यमा संलग्न भएका राम्रा कुराहरूलाई लिपिबद्ध गरेको जानकारी दिनुभयो । उहाँले आफूले बेलायती सेनामा लागेर धेरैवर्ष बन्दुक समाएको र अवकाशपछि मूलतः कलम समाउने कार्यमा लाग्दै यो ठाउँसम्म आएको बताउनुभयो । विशेष रूपले कलमको शक्ति निक्कै बलियो हुने भन्दै उहाँले यस शक्तिबाट नै समाजमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथि मगर संघकी उपाध्यक्ष गङ्गा खासुले एकदमै थोरै मगरहरू मात्र लेखन कार्यमा लागेको अवस्थामा अब मगरहरू यस क्षेत्रबाट पनि अगाडि आउनुपर्ने कुरामा जोड दिनुभयो । वास्तवमा मगरहरूमा लेख्ने र पुस्तक छाप्ने संस्कार कम भएको भन्दै उहाले विजय हितानजस्ता लाहुरेले कलम चलाउनु धेरै राम्रो भएको उहाले बताउनुभयो ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का विशेष अतिति श्रवण मुकारुङले आर्यजातिको संस्कार र धर्मका रामायण, महाभारतजस्ता पुस्तक पनि कवितामै लेखिएको भन्दै लेख्ने कार्य कठिन भए पनि यसले नै सबैलाई सुसंस्कृत बनाउने बताउनुभयो । उहाले लखन थापा, मित्रसेन, जीतबहादुर सिङ्जालीजस्ता देशले नै गर्व गर्नुपर्ने व्यक्तिहरूका बारेमा विजय हितानले राम्रो दस्तावेज तयार पारेको बताउनुभयो । ् , यी कुरा पचास या सय वर्षको अन्तरालमा निक्कै ठूलो प्रमाण बन्ने उहाको बिश्वास थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा.मीन श्रीसले लेखक विजय हितानका बुबा जयबहादुर हितानको सम्झना गर्दै २०३५ सालतिर आफ्नै गाउँमा पुगेर जयबहादुर हितानले नै स्थापना गरिदिएको मगर विद्याार्थी संघको सदस्य बनेर काम गरेकाले आफूले हितानलाई गुरु मान्दै बताउनुभयो ।
कार्यक्रमका सभापति डा. विष्णु सिङ्जालीले मगरहरूको ज्ञान निर्माणमा मगर लाहुरे, सरकारी जागिरे र शिक्षकहरूले लेख्न जरुरी छ भन्दै अबको समयलाई हरेक कुराको दस्तावेज आवश्यक भएको बताउनुभयो । वास्तवमा स्नातक या सोभन्दा माथि शिक्षा हासिल गरेका मगरहरूको संख्या थोरै भएको भन्दै उहाले हाम्रा भाषा तथा संस्कृतिका बारेमा हामीले नै खोज, अनुसन्धान र लेखन गर्नैपर्ने कुरामा जोदिनुभयो । विगत लामो समयदेखि बेलायतमा बसोवास गर्दै निरन्तर रूपले लेखन कार्यमा लागेका विजय हितान वातावरण साहित्य लेखनका अभियन्ता हुनुहुन्छ । हरेक वर्ष आफ्ना कृति पाठकहरूसामु ल्याउँदै आएका हितानको मगर रिन्हाक (मगर चेतना ) दशौँ कृति हो । नेपाल मगर लेखक संघ प्रकाशक रहेको यस पुस्तक बिक्रीबाट उठेको रकम मगर प्रकाशन अक्षयकोषका लागि किार्यक्रमस्थलमै हितानले सो लेखक संघलाई नै हस्तान्तरण गुर्नुभयो ।