पाल्पा बुटवलको सिद्धबाबा सुरुङको ठेक्कामा ढिलाई

पाल्पा, फागुन २७
दैनिक ५ हजार साना ठूला सवारी गुड्ने पाल्पा बुटवलको सडक खण्ड सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा हुने भनिएको सुरुङमार्ग निर्माणको लागि ठेक्का लगाउन ढिलो भएको छ । सरकारले गत वर्ष २०७६ को मंसिर पहिलो साता नै यो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउन सडक विभागलाई स्वीकृति दिएको थियो । तर, सुरुङमार्गको बोलपत्रको कागजात (बिड डकुमेन्ट) बनाएर स्वीकृत गर्न नै सरकार अलमलिएको भन्दै स्थानीयले चिन्ता जाहेर गरेका छन् । यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएकाले ‘बिड डकुमेन्ट’को तयारी गर्न बढी समय लागेको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । विभागले ६ महिनाअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयमा आफूले तयार गरेका कागजात पेश गरेको थियो । ईपीसी मोडलमा नेपालले अहिलेसम्म ठूलो ठेक्का नगरेका कारण केही ढिलाइ भएको केन्द्रको भनाई छ । सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको नेतृत्वमा विज्ञहरुमार्फत सो बोलपत्रको कागजातको मस्यौदा तयार भएको छ ।

अहिले पनि सो बोलपत्रको कागजात सोही कार्यालयले स्वीकृत गर्ने कि मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने विषयमा अन्योल भएको छ । अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा नै यो सुरुङमार्गका लागि १० अर्ब बजेटको स्रोत सुनिश्चित गरेको थियो ।
सिद्धबाबाको मुख्य प्रभावित क्षेत्रमा ११ सय मिटर लामो सुरुङ बन्नेछ । त्यसबाहेक सडकमा ९ सय मिटर लामो ढुंगा रोक्ने छानो (रक सेड) पनि बनाउनुपर्ने छ । त्यसबाहेक करिब एक किलोमिटर क्षेत्रमा ढुंगा खस्नबाट रोक्न जाली पनि बाँधिनेछ । सो खण्डमा सडकलाई दुई लेनको बनाउने गरी काम हुने निर्देशक जैसीले बताए । सिद्धबाबाको पहिरो छल्न बनाइने सुरुङमार्गको स्वीस सरकारको सहयोगमा २०७५ सालमै अध्ययन भएको थियो ।
बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका गन्तव्यमा पुग्न दैनिक ५ हजार साना ठूला गाडी यही बाटो गुड्दै आएका छन् । हिउद बर्षा जहिले र जुन सुकै बेला सुख्खा पहिरो खस्ने हुँदा यो बाटो निकै जोखिमपुर्ण छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *