काठमाण्डौ, माघ २६
बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको परिवार र आफन्तले दोशी पत्ता नलगाए सम्म शव नबुझ्ने अडान लिएका छन् । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको अनुमान छ । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
गएको बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा बिहीवार घर नजिकै रहेको जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । मृतक किशोरीको शनिवार शव परीक्षण भएको थियो । जिल्लाका राजनीतिक दलले हत्यारालाई पत्ता लगाइ कानुनी दायरामा ल्याउन माग गरेका छन् । यस्तै राष्ट्रिय मानव अधिकार आयोगले बैतडी घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गर्दे दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।