काठमाण्डौं, मंशिर ७
कक्षा १२ को परीक्षा मंशिर ९ देखि १६ सम्म पक्का हुने भएको छ । परिक्षाको आवश्यक तयारी पुरा भएको जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले परिक्षा नहुने भन्ने हल्लाको पछि नलाग्न समेत सबैमा आपिल गरेको छ । कक्षा १२ को परीक्षा यही मंशिर ९ गते मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कक्षा १२ को परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह गर्नुभयो । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालको भनाई छ । उहाँका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा हुनेछ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा हुने छ ।
कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । यस पटकको परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिनेछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । कोरोना सङ्क्रमण कायमै रहे पनि भौतिक दूरी कायम गरी परीक्षा लिन लागिएको हो । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो ।