रानीमहलको कथा (बाल लघुकथा)

पुष्कर अथक रेग्मी
अजिता गुरुआमाले विद्यार्थीहरुलाई रानीमहल भ्रमण लिएर जानुभयो । सबै विद्यार्थीहरु रानीमहल पुगेर रमाइलोसंग घुमे । घुम्ने क्रममा रानीमहलको प्राङ्गणमा एकजना पत्रकारलाई भेट भयो । गुरुआमाले पत्रकारसंग परिचय गर्नुभयो । कुराकानीको सिलसिलामा एकजना चलाख विद्यार्थी असीमले प्रश्न गरे, “पत्रकार दाई ! यो रानीमहल कसरी बन्यो ? ” पत्रकारले भने , “त्यसको बारेमा एउटा कथा छ । ” “ भन्नुस् न दाइ त्यो कथा” सबैले एकै स्वरमा भने । विद्यार्थीहरुको बाल जिज्ञासा मेट्नका लागि पत्रकारले कथा यसरी शुरु गरे । आजभन्दा करीव एक सय पच्चिस वर्ष अघिको कुरा हो । त्यतिबेला नेपालमा राणा प्रधानमन्त्री वीर शम्शेर थिए भने पाल्पा गौडाको तैनाथवालाको रुपमा वीर शम्सेरका भाई खड्ग शम्शेर थिए । खड्ग शम्सेर जंग वहादुर राणाका कान्छा भाइ धिर शम्सेर र रानी जोदु देवीका माइला पुत्र थिए । यिनको जन्म वि.सं १९१७ माघ १ गते भएको थियो । पाल्पामा रहदा खड्ग शम्शेरले रानीमहल, तानसेन शितलपाटीको ऐतिहासिक वग्गी ढोका निर्माण गर्नुका साथै लुम्बिनीमा रहेको अशोक स्तम्भ समेत उत्खनन् गरी पत्ता लगाएका थिए । खड्ग शम्सेरका तीन वटी रानीहरु थिए । सबसे प्रिय रानी तेजकुमारी थिइन् । रानी तेजकुमारीको गर्भबाट मात्रै पाँच छोरा र चार वटी छोरीहरु जन्मिएका थिए । वि.सं १९४९ सालमा रानी तेज कुमारीको असामयिक अप्रत्यासित एवं अकल्पनीय नीधन भयो । प्राण प्रिय रानीको अकालैमा मृत्यु भएपछि शोक विह्वल भई रानीको अन्तिम इच्छा वचन अनुसार उनैको स्मृतिमा धार्मिक स्वभावका खड्ग शम्सेरले काली गण्डकीको उत्तर वाहिनी क्षेत्रको बराङ्गदी खोला र काली गण्डकीको संगमस्थलको तटमा पाटी पौवा मन्दिर सहितको सुन्दर महल निर्माण गर्न लगाए । यसैलाई रानीघाट दरवार अर्थात रानीमहल भनिन्छ । वि.सं १९५० सालमा शिलान्यास गरी पाँच वर्षमा वि.सं १९५४ मा दरवाको निर्माण कार्य पूरा भएको थियो । यस दरवारको नमूना र नगद एक लाख रुपैया प्रधानमन्त्री वीर शम्सेरले बुहारीको स्मृतिमा काठमाण्डौंबाट पठाइ दिएका थिए । काठमाण्डौ र कलकत्ताका कालिगढहरु द्धारा निर्मित यस महल सम्म पुग्नका लागि पाल्पाका चार पल्टनले तानसेनबाट आठ किलोमिटर बाटो खनेका थिए ।
पश्चिमी बेजोड नमूनामा निर्मित दरवार परिसरमा ‘खड्ग शम्सेर ’ अक्षराङ्कीत अब्बल इँटाहरु प्रयोग भएका छन् । इँटा, ढुङ्गा र काठ प्रयोग गरी बनाइएको यो दरवारमा जस्ता पाताको छाना छ । गंगाको मूर्ति, शिवालय र पालेपहरा बस्ने घर , प्राङ्गण र शितलपाटीका साथै मूल दरवार गरी तीन तहमा दरवार परिसर निर्माण भएकोे छ । शीखर शैलीमा निर्मित तीन वटा मन्दिरको बगलमा रानी तेजकुमारीको नामाङ्कित ठूलो घण्ट रहेको छ । तीन तला भएको दरवारको भित्री भागको पछिल्तिरबाट माथि जाने भरेङ्ग, कोठा चोटाहरु, भान्छा कोठा र बुइँगल रहेका छन् । नदीतर्फको भागमा नदी र पारीको दृश्य हेरेर आनन्द लिने बुर्जाहरु रहेका छन् । नीलो सेतो आकर्षक रंगरोगन , ग्रीक शैलीको खम्बा, झ्याल ढोका सहितको दरबारको माथिल्लो त्रिकोणत्मक हिस्साको अग्र भागमा ‘ श्री परब्रह्मा शरण श्री रानी तेजकुमारी देवीशरण ’ लेखिएको छ । यही भव्य महललाई रानीमहल, रानीघाटको दरवार भनिन्छ भने यस क्षेत्रलाई रानीघाट भनिन्छ ।

काली गण्डकी उत्तरवाहिनी भइ वहेको तटको विशाल चट्टानी ढुङ्गामाथि दरवार रहेको छ । दरवारको पश्चिमी जगको तल काली गंगाजीको लहर अन्त्यन्त आकर्षक देखिन्छ । पारी टाढाबाट हेर्दा गण्डकी माथि दरबार अडिएजस्तो अत्यन्त सुन्दर र मनोरम दृश्य देखिन्छ । ‘अमरप्रेम र सत्य वाचा’ को प्रतीकको रुपमा निर्मित रानीघाट दरवारलाई भारतको आगराको ताजमहलसंग तुलना गरिएको छ । हिन्दू धर्म संस्कार अनुसार काली गण्डकीको महिमा अपरम्पार छ । नदीको वर्ण कालो भएकोले काली गण्डकी भनिएको हो । कालो रंगको गण्डक अर्थात् शालिग्राम पाइने भएकोले कृष्ण गण्डकी समेत भनिन्छ । उत्तरखण्ड, उत्तरायण जस्तै उत्तवाहिनीको ठूलो महत्व छ । नेपालमा पवित्र नदीहरुको उत्तर गमन अर्थात् उत्तर वाहिनी क्षेत्र रानीघाट एक मात्र हो । हिन्दू देव देवीहरु र ऋषीतपस्वीहरुको बासस्थान उत्तर भूमी हो । यहाँ स्नान पूजा दान गर्नाले पुण्य प्राप्त हुन्छ । यही अलौकिक महत्वलाई बुझेर खड्ग शम्शेरले रानी तेजकुमारीको नाममा यही क्षेत्रमा रानीमहल निर्माण गरेका हुन् । इतिहास, धार्मिक, सांस्कतिक एक प्रेमको सहमिलन सहित राष्ट्रिय सम्पदाको रुपमा रानीमहल पाल्पाको तानसेन नगरपालिका भित्र बौघागुम्बामा रहेकोछ । यसको संणक्षण संवधर्न एवं प्रचार प्रसारका लागि हामी सबै लाग्नु पर्दछ । कथा सुनेपछि अजिता गुरुआमा सहित सबै विद्यार्थीले पत्रकारलाई धेरै धेरै धन्यवाद दिए । पत्रकारले पनि रानीमहल देखिने गरी विद्यार्थीहरु समेत भइ समूह फोटो खिचेर सामाजिक संजालमा रानीमहलको महिमा सहित संम्पे्रषण गरिहाले ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *